सङ्खुवासभा : मकालु गाउँपालिका–२ का ङिमा ओङ्जुक शेर्पाका एकै परिवारका ६ सदस्यले विश्वको पाँचौँ अग्लो मकालु हिमाल (८,४८५ मिटर) सफलतापूर्वक आरोहण गरेका छन्।
वैशाख २६ गते उनीहरूले एकै साथ शिखर चुमेर सम्भावित विश्व कीर्तिमानका लागि दाबी गरेका छन्।
मकालु आरोहण गर्नेमा मुक्टुक लाक्पा शेर्पा, उनका भाइहरू ङिमा दोर्ची, आङ डी, पेछुम्वे, बहिनी पासाङ याङ्जी तथा मुक्टुककी २३ वर्षीया छोरी एनीमा शेर्पा छन्।
मुक्टुकले बताएअनुसार एउटै बुबाका ५ जना छोराछोरीले एउटै समयमा मकालु हिमाल आरोहण गर्नु विश्वमै पहिलोपटक हो। पासाङ याङ्जीले पनि उक्त आरोहणले परिवारिक कीर्तिमान स्थापित गर्ने विश्वास व्यक्त गरेकी छन्।
यो अभियान मकालु हिमालको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनका लागि समेत गरिएको बताइएको छ। यसअघि यही परिवारका चार दाजुभाइले पाकिस्तानको केटु हिमाल (८,६११ मिटर) पनि एकै पटक आरोहण गरिसकेका थिए। मुक्टुकका माइलो दाजु काले छिरिङ शेर्पाले पाँच पटक सगरमाथा, एक–एक पटक धौलागिरि र अन्नपूर्ण हिमाल चढिसकेका छन्।
यो सफल आरोहणमा मुक्टुककी छोरी एनीमा शेर्पाले पनि सहभागिता जनाउँदै २३ वर्षकै उमेरमा मकालु चढेकी छन्। उनले कान्छी महिला आरोहीको रूपमा विश्व कीर्तिमान दर्ता गराउने तयारीमा रहेको बताइन्।
उक्त साहसिक सफलता उपलक्ष्यमा नेपाल पत्रकार महासंघ सङ्खुवासभाले सोमबार खाँदबारीमा विशेष समारोहका बीच उक्त परिवारलाई सम्मानपत्र प्रदान गरी सम्मान गरेको छ।
प्रतिक्रिया