सिदिङ्वा धामको प्रवर्द्धनका लागि ताप्लेजुङमा तीनदिने पर्यटन महोत्सव

मंगलबार, ०६ जेठ २०८२

ताप्लेजुङ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र सिदिङ्वा धामको प्रचारप्रसार र प्रवर्द्धन गर्न जेठ १५ देखि १७ गतेसम्म तीनदिने पर्यटन महोत्सव आयोजना गर्ने भएको छ।

समुद्री सतहबाट ३,५१५ मिटर उचाइमा अवस्थित सिदिङ्वा धाम जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिएको धार्मिक स्थल हो। महोत्सव सिदिङ्वा धामको साथै ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, कालीपोखरी, हात्तीढुङ्गा लगायत गाउँपालिकाभित्रका अन्य पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा केन्द्रित हुनेछ।

गाउँपालिका अध्यक्ष मानबहादुर राईले सिदिङ्वा धाम अन्तर्राष्ट्रिय जैविक मार्गका रूपमा चिनिएको धार्मिक पर्यटकीय क्षेत्र भएकाले यस महोत्सवले पूर्वी नेपालकै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन ।

उपाध्यक्ष कृष्णकुमारी कडरियाले कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार भए पनि प्रचारप्रसारको कमीले अपेक्षित सफलता नपाएको बताए। उनले सामाजिक सञ्जालमार्फत अहिले पर्यटकको चाप भने बढ्दो रहेको जानकारी दिइन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विकका अनुसार महोत्सवमा सिदिङ्वा धाम दर्शन यात्रा, हाफ म्याराथन, भलिबल प्रतियोगिता, स्थानीय उत्पादन प्रदर्शनी, सांस्कृतिक प्रस्तुति लगायतका कार्यक्रम समावेश गरिने छन्।

भलिबल विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने हाफ म्याराथनका प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः ४०, ३० र २० हजार पुरस्कार जित्ने छन्।

महोत्सवमा नौमती बाजा, च्याब्रुङ नाच (केःलाङ) तथा स्थानीय संस्कार–संस्कृति प्रस्तुत गरिनेछ। धार्मिक दृष्टिले सिदिङ्मा धाम पछिल्लो समय आन्तरिक पर्यटकको लोकप्रिय गन्तव्य बन्दै गएको छ। स्थानीय कैलाश राईका अनुसार पहिले कम मात्रामा पर्यटक पुग्ने धाममा अहिले उल्लेख्य संख्यामा पर्यटक पुग्न थालेका छन्।

सिदिङ्वा गाउँपालिका–२ सादेवा र वडा नं ३ आङ्खोपको सीमामा अवस्थित सिदिङ्मा धाम सिक्रेडाँडासम्म सडक पुगेपछि थप सुलभ बनेको छ।

यहाँबाट कञ्चनजङ्गा, मुक्कुमलुङ, तिम्बुङ पोखरी, सिक्किम र दार्जिलिङका दृश्य अवलोकन गर्न सकिन्छ। धार्मिक मान्यताअनुसार सिद्ध ऋषिले तपस्या गरेर मनोकामना पूरा गरेको स्थल मानिने सिदिङ्मामा विशेषगरी वैशाख, असोज र ऋषि तर्पणीको अवसरमा धार्मिक पर्यटकको भीड लाग्ने गर्छ।

गाउँपालिकाले दीर्घकालीन योजना बनाई सिदिङ्मा धामको संरचना निर्माण र थप प्रचारप्रसारमार्फत धार्मिक पर्यटनलाई सशक्त बनाउन लक्ष्य लिएको छ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार