बजेट माग गर्दै धरानका राजनीतिक दल काठमाडौँ प्रस्थान, मेयर र राजनीतिक दलबिच जस लिन हानथाप

आइतबार, १० बैशाख २०८०
धरान । सुनसरी क्षेत्र नं. १ मा विभिन्न योजनामा बजेट माग गर्दै राजनीतिक दलको टोली काठमाडौँ प्रस्थान गरेको छ । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस तथा राप्रपाका प्रतिनिधिहरू सुनसरी क्षेत्र नं। १ कालागि विभिन्न योजनामा बजेट माग गर्दै काठमाडौँ प्रस्थान गरेका छन् । राजनीतिक दलको टोलीले राजधानी प्रस्थान गर्नु अघि पत्रकार सम्मेलन गर्दै आफ्ना योजनाहरू सार्वजनिक गरेका थिए । दलका योजनामा धरानको खानेपानी, लेउती सुरुङ मार्ग, विद्युत् लाइन भूमिगत गर्ने, सडक तथा सडक पूर्वाधारलाई प्राथमिकता दिइएको छ । खानेपानीका लागी तत्काल १० वटा डिप बोरिङ थप गर्नुपर्ने र दीर्घकालीन समाधानका लागी तमोर वा कोसीबाट खानेपानी ल्याउनुपर्ने योजना रहेको नेकपा एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले जानकारी दिए । अघिल्लो वर्षहरूमा समेत धरानबाट मेयर सहित राजनीतिक दलका प्रतिनिधिहरू संयुक्त रूपमा राजधानी गएर बजेट माग गर्ने गरेका थिए । तर यस वर्ष भने स्वतन्त्र उम्मेदवार हर्कराज राईले चुनाव जितेर मेयर भएपछि भने मेयर एक्लै राजधानी पुगेर बजेट माग गरिसकेको छन् । धरानका मेयर हर्कराज राईले विरोध गरेका योजनाहरू सुरुङ मार्ग, धरान विमानस्थल लगायतका योजनामा समेत राजनीतिक दलले बजेट माग गरेका छन् । मेयर राईले बजेट माग गर्न राजधानी गएको राजनीतिक दलको टोलीलाई गिज्याएका छन् । फेसबुकमा स्ट्याटस लेख्दै ‘विकास बजेट जनप्रतिनिधिले माग्ने कि पार्टीले रु’ भन्दै प्रश्न गरेका छन् । राजनीतिक दलसँग समन्वय गरेर धरानमा धेरै बजेट ल्याउनुपर्नेमा दलको विरोध गरेर मेयरले अराजनीतिक व्यवहार देखाएको भनेर धरानमा आलोचना भइरहेको छ । मेयर राईले धरानका विभिन्न योजनाका कामहरू रोकिरहेका छन् । धरान–५ स्थित सेउती खोलाको तटबन्धको काम समेत मेयर राईले रोकेका छन् । कार्यपालिकामा धरान–१० का वडाध्यक्षसँग विवाद भएपछि खहरे तटबन्धको काम रोक्न पत्र पठाएका थिए । तर उक्त योजना २ महिना अघि सम्पन्न भई भुक्तानी समेत भइसकेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार