इलामका बाढीपीडितलाई जर्मनीको रु ६३ लाख ९६ हजार बराबरको सहयोग

बुधबार, १२ कार्तिक २०८२

इलाम । सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढीपीडितका लागि रु ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री प्रदान गर्ने घोषणा गरेको छ । नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मनीको गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फे मार्फत सहयोग सामग्री परिचालन गर्न सम्झौता गरेका हुन् ।

राजदूत भोल्जले उक्त सम्झौतामा संस्थाका देशीय निर्देशक सकेब नवीसँग मङ्गलबार हस्ताक्षर गरेको जर्मनीको राजदूतावासले जनाएको छ । दूतावासका अनुसार आगामी दुई महिनाभित्रमा बाढी प्रभावित इलामका स्थानीय समुदायहरूसँगको सहकार्यमा सहायता सामग्री वितरण गरिनेछ ।

राजदूतावासले जारी गरेको विज्ञप्तिमा विपन्न वर्गका बाढीपीडितलाई प्राथमिकतामा राखेर राहत वितरण गरिने उल्लेख छ । यसअघि पनि जर्मनीले सर्लाही र रौतहटका बाढीपीडितका लागि रु एक करोड ६४ लाख बराबरको राहत सामग्री उपलब्ध गराएको थियो ।

जर्मनीले नेपालमा प्राकृतिक विपत्तिबाट प्रभावित समुदायका लागि निरन्तर सहयोग गर्दै आएको छ । इलामका बाढीपीडितका लागि गरिएको यो सहयोग जर्मनीको मानवीय सहायताप्रतिको प्रतिबद्धताको निरन्तरता हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार