काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बीमितको उपचारबापत लामो समयदेखि रोकिएको अस्पतालको बक्यौता रकम भुक्तानी गरेको छ । बोर्डले अस्पतालबाट प्राप्त कागजातहरूको पुनरावलोकनपछि आर्थिक वर्ष २०७७-७८ देखि २०८१ साल चैतसम्मको सबै बक्यौता रकम केही दिनअघि नै भुक्तानी गरेको जनाएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेका अनुसार अबदेखि पुराना बक्यौता रोक्न नदिने र नियमित रूपमा भुक्तानी गर्ने नीति लिइएको छ ।
“हामीले गत असोजसम्मको सबै बक्यौता निकालीसकेका छौँ, अहिले चैतसम्मको रकम अस्पताललाई दिइसक्यौं,” डा. काफ्लेले भने, “अब यही कात्तिकभित्र वैशाखदेखि असोजसम्मको बाँकी रकम पनि भुक्तानी गर्ने तयारी छ।”
उनका अनुसार अस्पतालहरूलाई तिर्नुपर्ने वैशाखदेखि असोजसम्मको कुल बक्यौता करिब ११ अर्ब रहेको छ, जसका लागि अर्थ मन्त्रालयसँग आवश्यक रकम माग गरिएको छ ।
बोर्डले बीमितबाट वार्षिक ३ खर्ब ७२ करोड बराबरको प्रिमियम संकलन गर्दै आएको छ भने वार्षिक खर्च करिब २६ अर्ब रहने जनाएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारका लागि ३ हजार ५०० को योगदानमा स्वास्थ्य सेवा उपलब्ध गराइन्छ । हाल देशभर ३७७ वटा प्रथम सेवा बिन्दु र ९८ वटा रिफरल स्वास्थ्य संस्थामार्फत सेवा उपलब्ध छ ।
बोर्डका तथ्यांक अनुसार हाल देशभर करिब ९४ लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध छन् ।
प्रतिक्रिया