स्वतन्त्रता केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो

आइतबार, २३ कार्तिक २०८२

अहिले हामीले अनुभव गरिरहेको स्वतन्त्रता र प्रजातन्त्र आजका पुस्ताका लागि सामान्य जस्तो लाग्छ, तर हिजोको दिनमा त्यो कुरा दन्त्यकथा जस्तै थियो । त्यसबेला हामी बोल्न पाउँदैन थियौँ ।

बिपी कोइरालाको फोटो लिएर हिँड्न पाउँदैन थियौँ । तर, नेपालभरि माओत्सेतुङका फोटा र रेडबुक सजिलै उपलब्ध थिए । यसमा कुनै रोकथाम थिएन, यो कुरा आजभन्दा ०४६ वर्षभन्दा पहिलेको हो । अझ ०३६ सालभन्दा अघि फर्केर हेर्ने हो भने त्यो समयमा स्वतन्त्रता हनन्को वातावरण कस्तो थियो भन्ने कुरा स्पष्ट हुन्छ । स्वतन्त्रता केवल राजनीतिक मात्र होइन, व्यक्तिगत, सामाजिक, सांस्कृतिक र पारिवारिक स्तरमा पनि महत्वपूर्ण हुन्छ ।

सानो बच्चाले पनि स्वतन्त्रता खोज्छ । परिवारमा बाबु–आमा र छोराछोरीबीच स्वतन्त्रताको माग अनिवार्य रूपमा हुन्छ । तर, ०३६ सालभन्दा पहिलेको नेपालमा चेतनाको हिसाबले स्वतन्त्रता परतन्त्र जस्तो मानिन्थ्यो । म २०४६ सालमा एसएलसी गर्दा पञ्चायत विषय पढ्न बाध्य भएँ । पास हुनका लागि हामीले पञ्चायत विषयमा ज्ञान लिनुपथ्र्यो, तर यसको अर्थ थियो कि हामीलाई स्वतन्त्रतालाई परतन्त्र र निरङ्कुश शासनको जामा पहिराउन सिकाइएको थियो ।

त्यसैले पनि पञ्चायतविरुद्ध मान्छेहरू एकजुट भए । युवाहरूलाई संगठन गर्न नदिने, आफ्ना कुरा राख्दा पक्राउ गर्ने, थुन्ने र जेल पठाउने व्यवस्था थियो । प्रजातन्त्रको माग गर्नु भनेको स्वतन्त्रताको माग गर्नु हो । स्वतन्त्रता बिना प्रजातन्त्र अर्थहीन हुन्छ । विपक्ष र पक्षको जन्म यसै कारण भयो, विपक्षले स्वतन्त्रतालाई आधार बनाएर प्रजातन्त्रको पक्षमा उभियो । त्यसैगरी साम्यवादीहरूले पनि आफ्नै संगठनको लागि आन्दोलन गर्न थाले  ।

बिपी कोइरालाले ‘अजितवादी फर्मुला’ को कुरा उठाएका थिए । त्यो फर्मुला अनुसार इन्डोनेशियामा कमरेड अदितको नेतृत्वमा कम्युनिस्ट आन्दोलन भयो । सुकार्नोको शासनमा धेरै कम्युनिस्टहरु मारिए । नेपालमा पनि स्वतन्त्रताको पक्षमा बोल्नेहरू मारिए । तर स्वतन्त्रताको मूल्य बुझ्दै प्रजातान्त्रिक स्वतन्त्रता आवश्यक भयो । हामीले पढ्न, लेख्न, बोल्न, संगठन गर्न, दल खोल्न, चुनावमा भाग लिन पाउने अधिकार पायौं ।

२०१६ सालपछि जनमत संग्रह र संविधान निर्माणका क्रममा जनताले नयाँ ढङ्गले स्वतन्त्रताको स्वाद पाए । ०३६ सालको आन्दोलनले बहुदलीय प्रजातन्त्रको जग बनायो र पञ्चायत प्रणाली अन्त्य भयो । आज हामी जहाँ छौं, स्वतन्त्रता अझ बढी उपलब्ध छ । तर, त्यस स्वतन्त्रताको उपयोग गर्दा व्यक्तिगत र सामाजिक जिम्मेवारी अझ बढी आवश्यक छ ।

आज सामाजिक सञ्जालको स्वतन्त्रतामा अनेक चुनौती छन् । समाजमा सामाजिक सञ्जालको दुरुपयोग समेत भएको छ । यसमा नियन्त्रण आवश्यक छ तर त्यस्तो नियमन व्यक्तिको स्वतन्त्रता माथि दबाब दिने खालको हुनुहुँदैन । स्वतन्त्रताको आधार व्यक्ति हो । हरेक व्यक्तिले आफ्नो अधिकारको उपयोग गर्दा अरु कसैलाई असर नपर्ने खालको प्रयोग गर्नुपर्छ ।

व्यक्तिगत स्वतन्त्रता धार्मिक, सांस्कृतिक, व्यक्तिगत र पारिवारिक जीवनसँग सम्बन्धित हुन्छ । कोसँग विवाह गर्ने, के खानुपर्ने, के बोल्ने–जस्ता विषयमा स्वतन्त्रता आवश्यक छ । स्वतन्त्रताको सही उपयोगले समाजलाई रुपान्तरण गर्न सक्छ । गलत प्रयोगले समाजमा हिंसा र कलुषित वातावरण ल्याउँछ ।

राजनीतिक दलहरूले जनतामा महत्वाकांक्षा बढाउँछन् । उनीहरूले मेनिफेस्टोमा शिक्षा, संस्कृति, स्वास्थ्य र अन्य सामाजिक आवश्यकता पूरा गर्ने वाचा गर्छन् । तर, सत्ता हातमा आएपछि त्यो वाचा पूरा नगर्ने प्रवृत्ति देखिन्छ । त्यसैले नागरिक र अभियन्ताहरूको जिम्मेवारी हुन्छ कि उनीहरूले दलहरूलाई सही मार्गमा अघि बढाउन मार्गदर्शन र निरीक्षण गर्ने ।

स्वतन्त्रताको मूल्य बुझ्दा, हामीले आफ्नो समाजमा मूल्याङ्कन गर्नुपर्छ । भविष्यका नेताहरूले समाजको नैतिक मूल्य पहिल्याउनुपर्छ, धर्म मात्र पालना गरेर मात्रै नैतिक हुँदैन । सडकमा फोहर फाल्न नहुने व्यवहार, सार्वजनिक स्थलमा अनुशासन, व्यक्तिको अधिकारको सम्मान, यी सबै मानव स्वतन्त्रताको उपयोग हुन् ।

स्वतन्त्रताको उपयोग गर्दा स्व–नियमन आवश्यक छ । सरकारले कानुन बनाएर मात्र नियमन गर्दा दमन हुने खतरा हुन्छ । मान्छेको आधारभूत आवश्यकता – शिक्षा, स्वास्थ्य, सुरक्षा, आवास र खाना उपलब्ध गराइएपछि स्वतन्त्रता थप सन्तुलित हुन्छ । स्वतन्त्रता बिना यी आवश्यकताहरूको संरक्षण सम्भव हुँदैन ।

स्वतन्त्रताको संरक्षणले विद्रोहलाई रोक्ने काम गरेको हुन्छ । जब मान्छेले स्वतन्त्रता पाउँदैन तब उसले, विद्रोह सुरु गर्छ । त्यसैले नेताहरूको जिम्मेवारी हो कि उनीहरूले स्वच्छ नेतृत्व र पारदर्शिता देखाउँदै स्वतन्त्रताको संरक्षण गर्ने । बिपी र गिरिजाबाबुको संवादले यही कुरा देखाउँछ कि स्वतन्त्रता सबैभन्दा महत्वपूर्ण हो । जेलमा राख्दा पनि मान्छेले आफ्नो स्वतन्त्रता खोज्ने हुन्छ ।

स्वतन्त्रता केवल प्राप्त गर्ने मात्र होइन, समाजलाई रुपान्तरण गर्ने माध्यम पनि हो । भावी पुस्ताले सही–गलत पहिचान गरी नैतिक बाटो अपनाउनुपर्छ । लोकतान्त्रिक प्रणाली, सांस्कृतिक र धार्मिक विविधता, प्राकृतिक सम्पदा र मानव अधिकारको संरक्षण गरेर मात्र देश प्रगतिशील हुन्छ ।

नेपालमा प्राकृतिक सम्पदा, सांस्कृतिक र धार्मिक सम्पदा, शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध छ । तर यी स्रोतहरूको सही उपयोग र स्वतन्त्रताको सम्मानले मात्र समाज स्थिर र समृद्ध रहन्छ । स्वतन्त्रता उपभोग गर्नुपर्छ, तर आफुले प्रयोग गरेको स्वतन्त्रताले अरुलाई असर नपर्नेगरी अघि बढ्नुपर्छ । हाम्रा वर्तमान र भविष्यका पुस्ताका लागि पनि मुख्य सन्देश यहि नै हो ।

स्वतन्त्रता केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो । त्यसको सही उपयोगले समाज रुपान्तरण हुन्छ, गलत उपयोगले विघटन ल्याउँछ । स्वतन्त्रताको वास्तविक मूल्य बुझ्न, व्यक्तिले आफ्नो अधिकारको जिम्मेवारी बुझ्न आवश्यक छ । यही आधारमा लोकतन्त्र, न्याय र समाजको स्थिरता सुनिश्चित हुन्छ ।

आजको नेपालमा उपलब्ध स्वतन्त्रता र अधिकारहरू पूर्व–सत्ता कालसँग तुलना गर्दा धेरै फरक छन् । तर त्यो स्वतन्त्रता सदुपयोग गर्न नागरिक र दलहरू दुवै जिम्मेवार छन् । समाजको नैतिक मूल्य, कानूनी नियम र व्यक्तिगत जिम्मेवारीको समन्वयले मात्र वास्तविक स्वतन्त्रता सुनिश्चित हुन्छ ।

अन्ततः स्वतन्त्रता सबैभन्दा मूल्यवान् हो, तर यसको संरक्षण र प्रयोगमा विवेक, नैतिकता र स्व–नियमन अनिवार्य छ । यही शिक्षा हामीले भोलिका पुस्तालाई दिनुपर्छ, ताकि लोकतन्त्र, समाज र नागरिक स्वतन्त्रता सँधैं सुरक्षित रहोस् ।( फ्रिडम फोरम नेपालका अध्यक्ष अधिकारीसँग नेपाल न्यूज बैंकसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार