माई खोलामा पुल नबन्दा गौरीगंज र झापा गाउँपालिकाका स्थानीयवासीलाई आवतजावतमा समस्या

सोमबार, २४ कार्तिक २०८२

झापा । गौरीगंज गाउँपालिका र झापा गाउँपालिकालाई जोड्ने हुलाकी राजमार्ग अन्तर्गत माई खोलाको पुल नबन्दा स्थानीयवासीहरूलाई  आवतजावतमा समस्या सृजना भएको छ । 

लामो समयदेखि माईपुल निर्माण कार्य अलपत्र परेपछि स्थानीयहरूले वैकल्पिक रूपमा वासको भाटाको प्रयोग गर्दै अस्थायी पुल बनाएर आवतजावत गर्दै आएका थिए। तर केही दिनअघि आएको बाढीले उक्त अस्थायी पुल बगाएपछि पुनः निर्माणको काम सुरु भए पनि हालसम्म सकिएको छैन।

पुल नहुँदा स्थानीयहरू माईखोला डुङ्गा, ट्र्याक्टर, मोटरसाइकल वा साइकलवाहकसँगै जोखिम मोलेर खोला पार गर्न बाध्य भएका छन्। गौरीगंज गाउँपालिकाका करिब ३५ हजार बासिन्दा र मोरङ जिल्लाका सीमावर्ती बस्तीका बासिन्दा यही बाटो भएर झापाको सदरमुकाम भद्रपुर तथा भारतका नजिकका बजारहरूमा आवतजावत गर्ने गर्दछन्।

यातायात अवरुद्ध हुँदा विद्यार्थी, शिक्षक, सरकारी कर्मचारीदेखि सर्वसाधारणसम्मलाई दैनिक जीवनमा ठूलो असुविधा भइरहेको स्थानीयवासीहरूले बताएका छन्।

स्थानीयहरूले यसअघि नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई पुलको अवस्था देखाउँदै ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए। मन्त्री घिसिङले पुरानो ठेक्का रद्द गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए पनि हालसम्म कुनै प्रगति नभएको स्थानीयको गुनासो छ।

गौरीगंज र दक्षिणी भेगका जनताको तर्फबाट सम्बन्धित निकायलाई तत्काल ठेक्का प्रक्रिया अघि बढाई पुल निर्माण कार्य चाँडो सम्पन्न गर्न आग्रह गरिएको छ। स्थानीयवासीहरूका अनुसार समयमै पुल निर्माण सम्पन्न भएमा जनताको दैनिकी सहज हुने र बाढीपछिका मानवीय जोखिम घट्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार