काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियम उल्लङ्घन गरेको भन्दै कुमारी बैङ्क र प्राइम कमर्सियल बैङ्कलाई सचेत गराएको छ। केन्द्रीय बैङ्कले आज सूचना जारी गर्दै कुमारी बैङ्क र प्राइम कमर्सियल बैङ्कमाथि कारबाही गरिएको जानकारी गराएको हो।
कुमारी बैङ्कले कालोसूचीमा रहेका व्यक्ति वा संस्थासँग बैंकिङ कारोबार नगर्नुपर्ने प्रावधानको उल्लङ्घन गरेको पाइएको छ। राष्ट्र बैङ्कले एकीकृत निर्देशन २०८१ को इ।प्रा। निर्देशन नं. १२/०८१ अनुसार कालोसूचीमा परेकाहरूले रकम जम्मा गर्न बाहेक अन्य कारोबार गर्न नपाउने व्यवस्था गरेको थियो। उक्त नियमको पालना नगरेको पाइएकाले कुमारी बैङ्कलाई राष्ट्र बैङ्क ऐन, २०५८ अनुसार सचेत गराइएको हो।
प्राइम कमर्सियल बैङ्कले पनि कर्जा वर्गीकरण र जोखिम भार गणनामा त्रुटि गरेको पाइएको छ। निरीक्षणका क्रममा भाखा नाघेका कर्जाहरूलाई वर्गीकरण नगरेको र जोखिम भार गणना गर्दा क्यापिटल एडिक्वेसी फ्रेमवर्क–२०१५ अनुसार गणना नगरेको देखिएको हो। यसका कारण बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैङ्क ऐन, २०५८ अनुसार सचेत गराइएको छ।
राष्ट्र बैङ्कले यी कारबाहीहरू वित्तीय अनुशासन कायम गर्नका लागि आवश्यक कदमका रूपमा लिएको जनाएको छ ।
प्रतिक्रिया