सोच, विचार र विश्वास बदल्ने यात्राको सूत्र

बुधबार, ०३ मंसिर २०८२
  • केशव खतिवडा

सोच कल्पनाको उपज हो । मानव मस्तिष्कले विभिन्न कुरा बुझ्ने, मूल्याङ्कन गर्ने र विचारमा बदल्ने मानसिक प्रक्रिया हो । मनमा आउने सामान्य विचार नै सोच हो, जुन तुलनात्मक रूपमा तरल र सतही हुन्छ । सोच विचारको प्रस्थान बिन्दु वा इपीसेन्टर हो । कच्चा विचार नै सोच हो। सोचको शुद्धीकरण प्रक्रियाबाट नै परिपक्व विचार जन्मिन्छ ।

विचार भनेको सोचको खारिएको परिणाम हो । विभिन्न अध्ययन, अनुसन्धान, विश्लेषण, अनुभव तथा तथ्यमा आधारित गहिरो र परिपक्व सोच नै विचार हो ।

त्यसैगरी कुनै पनि विचार, घटना वा सिद्धान्त सत्य वा यथार्थ छ भन्ने आत्मिक अनुभूति नै विश्वास हो । विश्वास मानसिक अवस्था हो, प्रमाण होइन, केवल भरोसा मात्र हो ।

विश्वास वैयक्तिक हुन्छ । समान विषयमा फरक–फरक व्यक्तिमा फरक विश्वास हुन सक्छ किनकि विश्वास वस्तुगत कुरा होइन । तथापि, विश्वासले नै प्रेरणा दिन्छ, उत्प्रेरित गर्छ र व्यवहार निर्धारण गर्छ ।

विश्वासको प्रकृति गहिरो हुन्छ भने विचारको प्रकृति लचिलो हुन्छ ।

त्यसकारण विचार परिवर्तन गर्न विश्वासमाथि प्रश्न गर्नु आवश्यक हुन्छ । जबसम्म जड विश्वासलाई तथ्य–आधारित प्रश्नले हल्लाइदिँदैन, अनुभूतिमा आधारित विश्वास डगमगाउँदैन । त्यसैले विचार बदल्न विश्वासमाथि तथ्यगत प्रश्नका शक्तिशाली बाण चलाउनुपर्छ ।

तथ्यमा आधारित विचारले मनोवैज्ञानिक अनुभूतिमा ढलिमलि भएर बसेको विश्वासलाई जब हल्लाउँछ, तब मानिसको विचार बदलिन्छ ।

गणित र विज्ञानका नियमहरू पनि सर्वकालीन सत्य होइनन्, परिमार्जन हुँदै विकसित हुन्छन् । विचार त झन् घटना, परिघटना, परिस्थिति अनुसार परिवर्तित हुने गतिशील तत्व हो ।

तर सोच, विचार र विश्वास मध्ये विश्वासलाइ नै प्रधान मानिन्छ किनकि यसले नै विचार निर्धारण गर्छ ।

त्यसर्थ पुरानो विश्वासलाई तथ्यका घनरूपी प्रश्नले नटुक्राएसम्म र नयाँ विश्वास स्थापित नगरेसम्म विचार परिवर्तन हुन सक्दैन ।

आफ्नो विश्वासमाथि कस्ता प्रश्न गर्ने ?

विश्वास तुलनात्मक रूपमा जड प्रकृतिको हुने भएकाले यसको परीक्षण गर्न आवश्यक छ । यसका लागि विश्वासमाथि निम्न प्रश्नहरू गर्नुपर्छ :

१. यो विश्वास मलाई कहिलेदेखि र कसरी प्राप्त भयो ?
२. मेरो विश्वास कुन तथ्यमा आधारित छ ? कि यो भावना, डर वा समूह–दबाबले बनेको हो ?
३. मलाई यो विश्वास कसले गरायो ?
४. एक समयको विश्वास सधैं सत्य रहिरहन्छ ?
५. यो विश्वास सत्य छ भन्ने प्रमाणहरू के–के छन् ?
६. मेरो विश्वास मेरो लक्ष्यसँग मेल खान्छ ?
७. यसले मेरो जीवन र समाजलाई सहयोग गरेको छ ?
८. तथ्यका आधारमा मेरै विश्वासका विकल्पहरू के–के छन् ?
९. यसले मलाई खुशी बनाएको छ कि दुःखी ?
१०. मेरो विश्वासका कारण मैले कुनै अवसर गुमाएको छु ?
११. यो विश्वास परिवर्तन गरे के फरक पर्छ ?

यसरी समय–समयमा विश्वासको परीक्षण गर्न सके व्यक्ति आत्मपरीक्षणी र गतिशील बन्न सक्छ, जसको सकारात्मक प्रभाव परिवार, समाज र राष्ट्रसम्म पर्न सक्छ ।

पुरानो विश्वासबाट कसरी मुक्त हुने ?

पुरानो सोचले निर्माण गरेको पुरानो विचार, र त्यसले जमाएर राखेको विश्वासलाई परिवर्तन गर्दै नयाँ विचार विकास गर्नका लागि

सोचको दायरा बढाउने
आत्म–समीक्षा गर्ने
नयाँ र बहुआयामिक सिकाइलाई दीर्घकालीन प्रक्रियाको रूपमा स्वीकार गर्ने

अति सीमित वातावरण जस्तैः कुवामा बस्ने भ्यागुतोले संसार त्यहीँ देख्छ । समुन्द्र नदेखेसम्म कुवामै बसेको सत्य ठान्छ । त्यस्तै, ज्ञानको दायरा नबढाएसम्म पुरानो विश्वासबाट मुक्त हुन कठिन हुन्छ ।

मुक्त हुनका आधारहरूः

१. बहुआयामिक अध्ययनः अर्थराजनीति, प्रशासन, कूटनीति, सूचना–प्रविधि, मनोविज्ञान आदि विषयमा तुलनात्मक अध्ययन ।
२. नयाँ पुस्तक, लेख, अनुसन्धान पढ्ने ।
३. विभिन्न ठाउँ तथा देशको अवलोकन यात्रा ।
४. विभिन्न विचार, अनुभव र पेशामा सफल व्यक्तिहरूसँग खुला संवाद ।

सिकाइ निरन्तर हुनुपर्छ । एक समयमा आर्जन गरिएको ज्ञान आधुनिक संसारमा छिट्टै अधुरो र एकाङ्गी बन्छ ।

विश्वास परिवर्तन नगरी विचार परिवर्तन हुन सक्दैन । विचार परिवर्तन नगरी यथार्थ र समयसँग मेल खाने पुनर्संरचना सम्भव छैन ।

परिवर्तन विज्ञानको शाश्वत नियम हो । विज्ञानको विकास नै परिवर्तनको परिणाम हो, अणुबाट परमाणु, परमाणुबाट क्वान्टासम्म । भविष्यमा क्वान्टा पनि टुक्रिन सक्छ ।

त्यसैले तथ्य–आधारित नयाँ ज्ञानले मानिसलाई अटो पाइलट (स्वचालित सोच) बाट मुक्त गर्छ । नयाँ र पुरानो विश्वासबीचको द्वन्द्वले मस्तिष्क अपडेट गर्छ ।

विश्वास बदलिएपछि सोच, प्रतिक्रिया, व्यवहार र भविष्य–योजना सबै परिवर्तन हुन्छ ।

पुरानो राजनीतिक सोच वा विश्वदृष्टिकोण कसरी बदल्ने ?

परम्परागत मूल्य–मान्यतामा आधारित, आधुनिक समयसँग मेल नखाने सोच नै पुरानो राजनीतिक सोच हो ।

समसामयिक सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक पक्षहरू मिलेर बन्ने एकीकृत धारणा नै विश्वदृष्टिकोण हो ।

पुरानो राजनीतिक सोचको कैदी बन्नुका प्रमुख कारण :

आधुनिक विश्वदृष्टिकोणको ज्ञानको कमी

परिवर्तनप्रति भय

परम्परा, स्वार्थ, संगत तथा समूह–दबाब

मुक्त हुनका उपाय :

१. ज्ञानको दायरा विस्तार

उल्लेख्य सफलता प्राप्त गरेका मुलुकहरूले अपनाएको अर्थराजनीति, प्रशासन, समाज, इतिहास, दर्शन, भूराजनीति आदि विषयमा तुलनात्मक अध्ययन आवस्यक छ ।

२. आत्म–समीक्षा

मेरो विचार र विश्वास आधुनिक विश्व सन्दर्भअनुसार कति सही छ ?
यसले समाज वा राष्ट्रलाई योगदान गर्न सक्छ कि सक्दैन ?

३. वैकल्पिक दृष्टिकोण राख्नेहरूसँग संवाद

फरक विचार भएका व्यक्तिसँग तथ्यपरक संवाद गर्नाले आफ्नै विचार हल्लिन्छ, लचिलोपन बढ्छ ।

४. स्वअनुभवबाट सिकाइ

समाजको वास्तविक अवस्था बुझ्ने, आफ्ना धारणासँग तुलना गर्ने ।

५. सोच परिवर्तनलाई असफलता होइन—विकास मान्ने

आत्मविकासको प्रक्रिया सम्झने ।

यसरी पुरानो सोच र विश्वदृष्टिकोण सापेक्षित रूपमा बदल्न सकिन्छ, जसले व्यक्ति, परिवार, समाज र राष्ट्र सबैलाई सकारात्मक दिशा दिन सक्छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार