क्यासिनोलाई थप कानुनी दायरामा ल्याइँदै, विभागले दियो १२ बुँदे निर्देशन

बुधबार, ०३ मंसिर २०८२

काठमाडौँ : सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रूपमा रहेको क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने उद्देश्यका साथ विभिन्न १२ बुँदे निर्देशन जारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले हाल सञ्चालनमा रहेका सबै क्यासिनोलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन र त्यसका सबै व्यवस्थाको पूर्ण परिपालनामा जोड दिएको छ ।

विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन एवम् सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनको पूर्ण परिपालनामा जोड दिएको छ ।

नेपाल राष्ट्र बैंकबाट विदेशी परिवर्त्य मुद्रा कारोबारको इजाजत नलिई विदेशी मुद्राको कारोबार गर्न नहुने विषयलाई विभागले स्मरण गराएको छ ।

क्यासिनो नियमावली, २०८२ र सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा पर्यटन विभागबाट क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन बमोजिमको विवरण नियमित रूपमा विभागमा पेस गर्नुपर्नेछ ।

क्यासिनो खेलाडीको ग्राहक पहिचान प्रणाली, बायोमेट्रिक विवरणहरू तोकेअनुसार अद्यावधिक गरी  विभागले माग गरेको अवस्थामा उपलब्ध गराउनुपर्ने, क्यासिनो स्थलमा हुने सबै गतिविधि रेकर्ड गर्ने गरी सिसिटिभी क्यामेराको अभिलेख कम्तीमा छ महिना सुरक्षित राख्नुपर्नेछ ।

तेस्रो पक्षसँग सम्झौता गरी वा अन्य कुनै तरिकाबाट क्यासिनो सञ्चालन गर्न नपाइने, इजाजत लिएको स्थानमा बाहेक अन्य कुनै पनि स्थानमा सञ्चालन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

खेलाडीले क्यासिनोबाट जितेको रकम भुक्तानी गर्नुअघि त्यस्तो खेलाडीले जितेको रकमबाट प्रचलित कानुन बमोजिम तत्काल आकस्मिक लाभकर अग्रिम रूपमा कट्टी गर्नुपर्नेछ ।

आकस्मिक लाभकर कट्टी गरेपछि इजाजत प्राप्त कम्पनीले खेलाडीलाई आकस्मिक लाभ कर कट्टी गरेको प्रमाणपत्र लिई त्यसको विवरण तत्काल सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा पठाउनुपर्ने र सो को जानकारी विभागमा समेत दिनुपर्नेछ ।

यस्तै, इन्टरनेटमा आधारित वा अनलाइन माध्यमबाट कुनै पनि खेल खेलाउन प्रतिबन्ध हुनेछ । क्यासिनो तथा होटेल परिसर भित्र तथा बाहिर पर्याप्त सुरक्षाको प्रत्याभूति गराउनुपर्नेछ । यस्तै, नेपाल ग्रे लिस्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण, २०८२ बमोजिम जोखिमको आधारमा क्यासिनो अनुगमन अनुगमन गर्दा दुरुस्त नपाइएमा तत्काल कानुन बमोजिम कारबाही हुनेछ ।

 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार