निर्वाचन सुनश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

शुक्रबार, ०४ पुस २०८२
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल

काठमाडौँ, :  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् ।  गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जनधनको क्षतिका कारण सृजित भय र अशान्तको अवस्थालाई छोटो समयमै सरकारले सामान्यीकरण गर्न सफल भएको उल्लेख समेत मन्त्री खरेलले गरे । 


वर्तमान सरकार गठनको १ सय दिनका सन्दर्भमा नेपाल टेलिभिजन र रासससँग कुराकानी गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले जेनजी आन्दोलनमा ७६ जनाको निधन र प्रारिम्भक अनुमानअनुसार ८४ अर्बभन्दा बढीको भौतिक क्षति भएको अवस्थाबाट यहाँसम्म ल्याउन सरकारले समन्वयकारी भूमिका निर्वाह गरेको बताए । मन्त्री खरेलले आमजनमानसमा पनि डर र त्रास कम हुँदै गएको र समाज सकारात्मक दिशातर्फ उन्मुख भइरहेको स्पष्ट पारेका छन् ।

आगामी फागुन २१ गते निर्वाचन, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणलगायत कार्यदेशसहित जेनजी आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको पृष्ठभूमि उल्लेख गर्दै सञ्चारमन्त्री खरेलले निर्वाचनको सुनश्चितता भइसकेकाले अब शङ्का नगर्न आग्रह गरे । 

“आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका बनाएर काम गरिरहेको छ । राजनीतिक दलहरू उत्साहजनक रूपमा निर्वाचनमा होमिइरहेको अवस्था छ । जनता पनि निर्वाचनप्रति उत्साहित छन्”, मन्त्री खरेलले भने , “निर्वाचनका लागि आठ लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् । आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्थापन भइसकेकाले निर्वाचन सुनिश्चित भएको छ ।” मन्त्री खरेलले थपे । 


सरकार निर्वाचनका लागि प्रतिबद्ध रही निर्वाचन आयोग, सुरक्षा निकायका लागि आवश्यक बजेटको व्यवस्था गरिसकेको समेत मन्त्री खरेलले जानकारी गराए ।  मन्त्री खरेलले निर्धारित समयमै निर्वाचन गराउन राजनीतिक दल, सरोकारवाला संस्थालगायतसँग वार्ता भइरहेको पनि उल्लेख गरे । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार