निर्णायक छलफलका लागि रवि र बालेन आज भेट्दै

विहीबार, १० पुस २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बिहीबार फेरि भेट्ने भएका छन् । आज उनीहरुबीच हुने छलफल निर्णायक हुने बताइएको छ ।

छलफल ललितपुरको कुपण्डोलमा हुने भनिएको छ जहाँ बालेनलाई भेट्न रवि जाँदैछन् । यसअघि बालेनले आफूलाई प्रधानमन्त्रीको रुपमा अघि सार्नुपर्ने प्रस्ताव गर्दा रविले अस्वीकार गरेपछि बालेन आफ्नै पार्टी बनाएर चुनाब लड्ने तयारीमा पुगेको दाबी गरिएको थियो ।

बालेनले पहिले मिल्न नसकेका वैकल्पिक शक्तिहरुलाई समेत आफूले एक ठाउँमा ल्याउन सक्ने गरी छलफल अगाडि बढाएपछि रवि बालेनसँग फेरि छलफलका लागि अघि सरेको अनुमान गरिएको छ । आजै बालेनले ऊर्जामन्त्री कुलमान घिसिङसँग समेत सहकार्यका लागि कुरा अगाडि बढाएका थिए ।

सोमबार राती कमलपोखरीमा रास्वपा नेता असिम शाहको निवासमा छलफल हुँदा अहिलेको चुनाबपछि बालेन प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गर्न जाने र रविले पार्टी चलाउने अनि अर्को निर्वाचनपछि रविले सरकार चलाउने र बालेनले सघाउने सहमति भएको दाबी गरिएको थियो ।

आजको छलफलको मुख्य विषयवस्तु पनि यही सेरोफेरोमा हुनसक्ने स्रोत बताउँछ । रविसँग सोमबार छलफल गरेका बालेनले पछि त्यसयता राजनैतिक छलफल तीब्र बनाएका छन् । उनले जेन–जी अभियन्ताहरुसँग पनि भेटेका थिए । बालेनले आफूसँग मिल्न सक्ने शक्तिहरुलाई एक ठाउँमा जम्मा गरेर रास्वपासँग छलफलमा बस्दा आफ्नो पक्ष बलियो बनाउन चाहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार