अर्जुनधाराबाट चोरीका सामानसहित दुई जना पक्राउ

आइतबार, १३ पुस २०८२

झापा  । झापाको अर्जुनधारा नगरपालिका–६ बिहानी टोलबाट चोरीका सामान लुकाई छिपाइ राखिएको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार  पुस १२ गते दिउँसो करिब ३ः३० बजे अर्जुनधारा–६ मा बसोबास गर्दै आएका मोहम्मद उसिम मुदिलको घरमा भारत बिहार राज्यको किशनगञ्ज घर बताउने करिम आलमले भाडामा लिएर बसेको कोठामा चोरीका सामान राखिएको सूचना प्राप्त भएको थियो। सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायब निरीक्षक नवराज लामाको कमाण्डमा टोली खटिएको थियो।

प्रहरी टोलीले कोठा खानतलासी गर्दा विभिन्न प्रकारका साइकल, मोटरसाइकल, मोबाइल, फलामका पाइप, पानी तान्ने मोटरलगायत ठूलो परिमाणमा सामान बरामद गरेको जनाएको छ। सोही क्रममा भारत बिहार राज्य किशनगञ्ज स्थायी वतन भई हाल अर्जुनधारा–६ बस्दै आएकी ३५ वर्षीया खतिजा बेगम र २३ वर्षीय मोहम्मद रज्जाकलाई नियन्त्रणमा लिई इप्रका अनारमनीमा ल्याइएको छ।

प्रहरीका अनुसार बरामद सामग्रीमा १० थान विभिन्न ब्रान्डका साइकल, फलामका पाइपका टुक्रा, फलामे रड, टायर रिङ, विभिन्न कम्पनीका मोटरहरू, ग्यास इन्डक्सन चुलो, वेल्डिङ मेसिनको कभर, साउन्ड बक्स, ट्याब्लेट, मोबाइल फोन, मोटरसाइकलको सवारी दर्ता किताब, प्रदेश नं.१–०१–०१५ प ९३४४ नम्बरको मोटरसाइकल, मोटरसाइकलका पार्टपुर्जा तथा नक्कली जस्तो देखिने भारतीय १०० दरका ९५ थान नोट समेत रहेका छन्।

पक्राउ परेकाहरूको साथबाट थप मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार