खानामा विष मिसाएर वृद्ध दम्पतीलाई खुवाउने भतिजी बुहारी थुनामा

शुक्रबार, १८ पुस २०८२
सांकेतिक फोटो

विराटनगर : वृद्ध दम्पतीलाई खानामा विष मिसाएर खुवाएको अभियोगमा पक्राउ परेकी भतिजी बुहारीलाई थुनामा पठाइएको छ । मोरङको बेलबारी नगरपालिका वडा नम्बर २ सिंहदेवी टोलकी सुनिता कार्कीलाई जिल्ला कारागार मोरङ चलानन गरिएको हो । 

सुनिता आफ्नी काकी सासू ७७ वर्षीया इन्द्रमाया राई र काका ससुरा ७० वर्षीय भक्तबहादुर राईलाई गत मंसिर २० गते खानामा विष मिसाएर खुवाएकी आरोपमा पक्राउ परेकी थिइन् । विष मिसाइएको खाना खाएपछि इन्द्रमायाको उपचारका क्रममा मृत्यु भएको थियो भने भक्तबहादुर भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

मोरगं जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले बिहीबार सुनितालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । आदेशपछि तत्कालै कारागार चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । 

घटनाको दिन दिउँसो भक्तबहादुर घरनजिकैको खोल्सामा बेहोस अवस्थामा फेला परेका थिए । स्थानीयले उद्धार गरी घरमा ल्याउँदा उनकी पत्नी इन्द्रमायासमेत घरमै बेहोस अवस्थामा ढलेकी थिइन् । दुवै जनालाई तत्काल विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो । आईसीयूमा उपचाररत इन्द्रमायाको सोही दिन मृत्यु भएको थियो ।

इन्द्रमाया र भक्तबहादुर राईका आफ्ना सन्तान थिएनन् । उनीहरू भतिजो प्रशान राई र उनकी पत्नी सुनिता कार्कीसँगै बस्दै आएका थिए । घटनाका बेला प्रशान घरबाहिर रहेका थिए । त्यो बेला सुनिताले वृद्ध अवस्थाका काकी सासू र काका ससुरालाई खानामा विष मिसाएर खुवाएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो ।


अदालतमा वादी नेपाल सरकार र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच थुनछेक बहस भएको थियो । बहसपछि अदालतले प्रमाण र परिस्थितिको मूल्याङ्कन गर्दै सुनितालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको सूचना अधिकारी बुढाथोकीले बताए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार