सर्पले डसेर दाजु-भाइको मृत्यु

मंगलबार, १६ जेठ २०८०
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–१ कुर्थौलीमा सर्पले डसेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय ग्रिस पहाडी र उनका तीन वर्षीय भाइ ग्रिस्म रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आमा गंगा पहाडीसँगै घरमा सुतिरहेका उनीहरुलाई आज बिहान सर्पले डसेको थियो । आज बिहान करिब ३ बजेतिर कान्छो छोरा छटपटाएपछि गंगा व्युँझिएकी थिइन् । त्यसपछि छोराहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो । त्यहाँ उपचार हुन नसक्ने भनेपछि थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर रिफर गरिएको थियो । आज बिहान करिब ८ बजेतिर चिकित्सकले दुवै बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सञ्चार शाखाले जनाएको छ । प्रहरीका अनुसार मृतक ग्रिसको बायाँ हातको साहिँली औंलामा र ग्रिस्मको बायाँ खुट्टाको बुढी औंलाको बीच भागमा सर्पले डसेको निलडाम छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार