बुबाका सपना पूरा गर्न लाग्ने छु : सुहाङ

मंगलबार, ०२ असोज २०८०
इलाम । स्वर्गीय सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले बुबाका सपना पूरा गर्न आफू लागि पर्ने बताएका छन् । नेकपा एमाले कोशी प्रदेश कमिटीको आयोजना तथा एमाले इलामको संयोजनमा गृह जिल्ला इलाममा भएको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनका अधुरा सपना पूरा गर्न लागि पर्ने बताएका हुन् । बुबाको निधनले इलाम मात्र नभइ सिंगो देश नै शोकमा परेको बताउँदै उनले सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गरेको, पार्टीले तीन दिनसम्म शोकसहित आधा झण्डा झुकाएर बुबाप्रति सम्मान ब्यक्त गरेकामा उनले धन्यवाद दिए । इलामेली जनताको मायाका कारण संसदमा पुगेर जनताको आवाज बोलेका कारण पनि सधैँ इलामेलीको मन मस्तिष्कमा बुबा रहने रहिरहने उनले बताए । पछिल्लो राजनैतिक घटनाक्रमसँगै बुबा चिन्तित हुने गरेको उल्लेख गर्दै उनले निष्ठावान राजनीति गरेको स्मरण गरे । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता समेत रहेका स्वर्गीय नेम्वाङले धेरै सपना बोकेको भए पनि कति सपना पूरा हुन नसकेको बताउँदै उनले बाँकी सपना पूरा गर्ने बताए । नेम्वाङको निधनपछि इलाम क्षेत्र नम्वर २ उपनिर्वाचन हुने भएको छ । सुहाङलाई आगामी उपनिर्वाचनमा उक्त क्षेत्रमा उम्मेदवार बनाइने चर्चा चलेको छ । श्रद्धाञ्जली सभामा बोल्दै नेकपा एमालेका नेताहरु रामबहादुर थापा बादल, रघुबीर महासेठ, डा. शिवमाया तुम्बहाम्फे, एमाले इलामका अध्यक्ष महेश बस्नेत, नेपाली कांग्रेस इलामका पूर्वअध्यक्ष हिमालय कर्माचार्य, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भक्त केशी, माअ‍ेवादी केन्द्रका कान्छा लावती, इलाम नगरपालिकाकी उपमेयर बिष्णुकुमारी दाहाल, बार एशोसिएसनका अध्यक्ष उत्तम पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष बिप्लब भट्टराईले नेम्वाङबारे चर्चा गरेका थिए । पार्टीको कोशी प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेले नेम्वाङप्रति श्रद्धान्जली ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार