इटहरी । कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख प्रतिपक्षी दलको दावी गरेको छ । राप्रपा प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बिहीबार सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारसमक्ष प्रमुख प्रतिपक्षी दलका लागि दाबी पेस गरेका हुन् ।
सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ९५० अनुसार मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई प्रदेशसभाका राप्रपा बाहेका सबै दलले विश्वासको मत दिएकाले प्रमुख प्रतिपक्षी दलको सुविधाका लागि सिटौलाले दाबी पेस गरेका छन् ।
मुख्यमन्त्री कार्कीले प्रदेशसभामा बुधबार पेस गरेको विश्वासको मत लिने प्रस्तावको पक्षमा ८६ र विपक्षमा ५ मत परेको थियो ।
कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा गत शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई ९३ सदस्यीय प्रदेशसभामा एमालेका ३९, सत्ता गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ जना प्रदेश सांसदले विश्वासको मत दिएका थिए । ६ जना प्रदेश सांसद रहेको राप्रपाका ५ जना प्रदेश सांसदले भने विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।
प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ को दफा २ को खण्ड ९ङ० बमोजिम राप्रपा प्रमुख प्रतिपक्षी दल भएकाले उक्त दलको नेताको यही ऐनअनुसार प्रमुख प्रतिपक्षी दलको नेताको सेवा सुविधाका लागि सिटौलाले माग दाबी पेस गरेका छन् ।
उक्त ऐनअनुसार प्रमुख प्रतिपक्षी दलका नेताले मासिक पारिश्रमिक ५९ हजार, बैठक भत्ता १ हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा २१ हजार, गाडी, इन्धन १२५ लिटर, मोविल ५ लिटर, बिजुली र धारा महसुल १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार, विदेश भ्रमण जाँदा दैनिक १७५ अमेरिकन डलर र फर्निचरबापत एकमुष्ट २० हजार सुविधा प्राप्त गर्ने व्यवस्था छ ।
सरकार गठनका लागि समर्थन दिने बाहेकका सबभन्दा बढी सदस्य रहेको दललाई प्रमुख प्रतिपक्षी दल हुने उक्त ऐनमा व्यवस्था छ । मुख्यमन्त्री कार्कीको नेतृत्वमा सरकार गठनका लागि कांग्रेसका विद्रोही ८ र एमालेका ३९ प्रदेश सांसदले समर्थन दिएका छन् ।
प्रतिक्रिया