बीएण्डसी सञ्चालक प्रसाई विरुद्ध युवासंघ उभियो , सडकमै टायर बालेर प्रर्दशन

शनिबार, ०४ कार्तिक २०८०
झापा । युवा संघ अर्जुनधाराको प्रथम नगर अधिवेशन उद्घाटनका लागि एमाले नेता महेश बस्नेत केही दिन अघि झापा आएका थिए । सो क्रममा पहिचानबादी समूहका नाममा अराजकता मच्चाउँदै बीएण्डसी अस्पताालका सञ्चालक दुर्गा प्रसाई नेतृत्वको एक समूहले रोकी राखेका दर्जनबढी सवारी साधान तोडफोड गर्दै क्षति पु¥याएपछि युवासंघले देशव्यापी रुपमा उनको कार्यक्रमलाई अवरोध गर्ने निर्णय गरेको छ । यसं क्रममा आज प्रसाईँले इलामको दानावारीमा गर्न लागेको कार्यक्रम पनि नेकपा एमालेनिकट युवा संघका कार्यकर्ताहरूले अवरोध पु¥याएका छन् । सो क्रममा युवासंघका कार्यकर्ता र प्रसाई समर्थकहरुबीच हात हालाहालको स्थिति सृजना भएपछि प्रसाई सो कार्यक्रममा सहभागी हुन पाएनन् । युवा संघका कार्यकर्ताहरुको कडा अवरोधका कारण प्रसाईँले इलाम दानाबारीको शुक्रवारेमा दुर्गा माताको मूर्ति प्रतिस्थापन गर्ने कार्यक्रम स्थगित गरेका छन् । दानाबारीमा निर्माण गरिएको दुर्गा मन्दिरमा ९ दिनसम्म पुराण लगाएर आज फूलपातीका दिन प्रसाईँले दुर्गा माताको मूर्ति प्रतिस्थापन गर्न लागेका थिए । दानाबारी जाने सडकको सुखानीमा युवा संघका कार्यकर्ताहरूले बिहानैदेखि टायर बालेर अवरोध गरेका थिए । उनीहरूले कुनै पनि हालतमा जान नदिने चेतावनी दिएपछि प्रसाईँले बाध्य भएर कार्यक्रम स्थगित गरेका हुन् । आफूले २५ लाखको लागतमा निर्माण गरेको मूर्ति प्रतिस्थापन गर्न खोज्दा एमालेले अवरोध गरेर राम्रो नगरेको प्रसाईँले प्रतिक्रिया दिएका छन् । उनले अब त्यस मन्दिरमा मूर्ति नराख्ने बताए । उनले सहयोगका लागि दुर्गा माताको दुई वटा मूर्ति निर्माण गरेका थिए । एउटा इलामको दानावरी र अर्को झापाको गौरादहका लागि । उनले दशै पछाडि गौरादहमा दुर्गा माताको मूर्ति सहयोग गर्ने बताइएको छ । काठमाडौँमा प्रसाईँलाई मोसो दलेपछि युवा संघसँग उत्पन्न भएको रिसिबी अर्जुनधारामा महेश बस्नेतको कार्यक्रममा गाडी तोडफोड भएपछि झन् बढेर गएको छ । यता राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य राज आङदेम्बेले गाडी तोडफोडमा सम्लग्नलाई कानूनी कारवाही नगरेसम्म उनका सबै कार्यक्रम बहिस्कार गर्ने बताएका छन् । अर्जुनधारामा आयोजित कार्यक्रममा सहभागीहरुका गाडी तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ गरेका प्रसाईका समर्थक भनिएका व्यक्तिलाई कानुनी कारबाही र गाडी मर्मत नगरेसम्म देशव्यापी अवरोध गरिनेछ उनले भने – हाम्रो अवरोध प्रसाई विरुद्ध मात्रै हो । हरेक वर्ष विजया दशमीको अवसमा प्रसाईले दुर्गा माताको मूर्ति विभिन्न मन्दिरहरुमा प्रतिस्थापन गर्दै आएका छन् । दानाबारी जाने मुख्य सडकको सुखानीमा युवा संघका कार्यकर्ताहरूले बिहानैदेखि अवरोध गरेपछि सुरक्षाका कारण कार्यक्रम नै स्थगित गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार