जग्गा बेच्न वडाको किर्ते सिफारिस बनाउने पाँच पक्राउ

आइतबार, १० मंसिर २०८०
विराटनगर । जग्गा बेच्न वडा कार्यालयको किर्ते सिफारिस बनाउने पाँच जना मोरङको रतुवामाई नगरपालिका–४ झुर्कियाबाट पक्राउ परेका छन् । संयुक्त नाममा रहेको जग्गा व्यक्तिका नाममा ल्याएर बिक्री गर्न सरकारी छाप दस्तखत किर्ते गरेको खुलेपछि रतुवामाई नगरपालिका–४ की ६२ वर्षीया झरियादेवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, पैखनलाल राजवंशी, ६४ वर्षीय कन्हरुलाल केवरत र ६५ वर्षीय चेतनलाल राजवंशी पक्राउ परेका हुन् । उनीहरुविरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाउन आइतबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । पक्राउ परेकाहरुले घरबाटो र जग्गा वर्गीकरणको सिफारिस पत्र बनाउँदा रतुवामाई–३ का वडाध्यक्ष देवीलाल ताजपुरियाको हस्ताक्षर, वडा कार्यालयको छाप र लेटरप्याड किर्ते गर्दै फर्जी चलानी नम्बर राखेर सिफारिस पत्र बनाएका हुन् । उनीहरुलाई वडाध्यक्ष ताजपुरियाले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याइएको डीएसपी दाहालले बताए । जग्गा बिक्रीका लागि मूल्यांकनलगायतका काम गर्न वडा कार्यालयबाट घरबाटो र जग्गाको वर्गीकरणको सिफारिस बनाएर जग्गा धनीले मालपोत कार्यालयमा पेस गर्नुपर्ने हुन्छ । उक्त सिफारिसका आधारमा मात्रै मालपोतले जग्गा पास गरिदिन्छ । रतुवामाई–३ मा ८–९ जनाको संयुक्त नाममा ३ बिघाभन्दा धेरै जग्गा थियो । त्यसलाई व्यक्तिगत नाममा ल्याएर बिक्री गर्नका लागि जग्गा धनीले घरबाटो र वर्गीकरणको सिफारिस किर्ते गरेर पेस गरेको मालपोत कार्यालय रंगेलीका प्रमुख सुनील पौडेलले बताए । सिफारिसका आधारमा मालपोत कार्यालयबाट काम भएर जग्गाको किनबेच पनि सुरु भइसकेपछि किर्ते गरेको खुलेको उनको भनाइ छ । पौडेलका अनुसार वडाले सिफारिस नै नदिएको खुलेको छ । मालपोतबाट व्यक्तिका नाममा ल्याएपछि ६ जनाले जग्गा नै बेचिसकेको पाइएको उनले बताए । सिफारिस हेर्दा दुरुस्तै देखिएपछि मालपोतले जग्गा पासलगायतका प्रक्रिया पूरा गरिदिएको र किर्ते गरेको थाहा भाएपछि वडाध्यक्षसहित प्रहरीलाई खबर गरिएको पौडेलको भनाइ छ । वडाध्यक्ष ताजपुरियाले पनि किर्ते गरेर सिफारिस बनाएको कुरा मालपोतले जानकारी गराएको बताए । उनले आफ्नो हस्ताक्षर, वडाको छाप र लेटरप्याड दुरुपयोग गरेर सिफारिस बनाएको पाइएको उल्लेख गरे । जग्गा धनीले सिफारिसवापत वडा कार्यालयलाई तिर्नुपर्ने राजस्व छली गर्न किर्ते कागजात तयार पारेको हुनसक्ने ताजपुरियाको अनुमान छ । गत कात्तिक २ गतेको मिति राखेर किर्ते सिफारिस तयार पारिएको छ । किर्ते गर्नेलाई पक्राउ गर्न प्रहरीले कात्तिक १६ गते अदालतबाट पक्राउ अनुमति लिएको थियो । ‘घरबाटो र वर्गीकरण सम्बन्धी समान्य सिफारिस लिनलाई केका लागि किर्ते गर्नु परेको हो भन्ने कुरा खुल्न बाँकी छ,’ डीएसपी दाहालले भने, ‘ककसको मिलेमतो र संलग्नता छ भन्ने विषय अनुसन्धानपछि पत्ता लाग्छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार