राष्ट्रिय सभामा ४ सिट पाउनुपर्ने देउवासँग शेखर कोइरालाको अडान

शनिबार, २१ पुस २०८०
काठमाडौँ । राष्ट्रिय सभा सदस्य उम्मेदवारमा नेपाली कांग्रेसको शेखर कोइराला समूहले ४ सिट पाउनुपर्ने अडान राखेको छ। आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दलहरुबीच सिट बाँडफाँटको रस्साकस्सी चलिरहँदा कांग्रेस संस्थापन इतर समूहले पार्टी नेतृत्वसँग ४ सिट दाबी गरेको हो। यस विषयमा नेता कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर प्रस्ताव राखिसकेका छन्। राष्ट्रिय सभामा कांग्रेसले ८ देखि ९ सिट पाउने सम्भावना रहँदै गर्दा कोइराला समूहले ४ सिटमा दाबी गरेको कोइरालानिकट एक नेताले  बताए। उनले भने,‘राष्ट्रिय सभामा हाम्रो समूहले चार सिट पाउनुपर्ने भनेर पटक–पटक नेतृत्वसँग आग्रह गरेका छौँ, नेता कोइरालाले पनि देउवासँग भेटेर आफ्नो कुरा राख्नुभएको छ।’ ती नेताका अनुसार आइतबार देउवा र कोइरालाको छलफल तय भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि राष्ट्रिय सभामा सत्ता गठबन्धनसँगै चुनावी सहकार्य गर्ने भने पनि भागबन्डा र एजेन्डामा सहमति नजुट्दा एक्लै चुनावमा जाने तयारीमा छ। एमालेले सत्ता गठबन्धनसँग ६ सिट मागेको थियो। मागेजति सिट दिन गठबन्धन तयार नभएपछि एमाले सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो। यसअघि कांग्रेस र माओवादीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गराउन एमालेको सहयोग खोजेका थिए। एमालेको उक्त रणनीतिपछि सत्तारुढ दलहरुले पहिलेकै सहमतिअनुसार छलफल चलाइरहँदा कांगेस संस्थापनइतर समूहले राष्ट्रिय सभा सदस्यका उम्मेदवारमा सभापतिको मात्रै एकलौटी निर्णय हुन नहुनेमा अडान लिएका हुन्। पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका कोइराला पार्टीमा हैसियतको लडाइँमा छन्। कोइराला गत आम निर्वाचनपछि संसदीय दलको नेता परिर्वतन गर्न लागिपरेका थिए भने पार्टीमा उपयुक्त स्थान नदिएको भन्दै देउवा सँग पटक– पटक असमति राख्दै आएका छन्। प्रदेश सरकारदेखि केन्द्र सरकारमा पार्टीको सहभागीता रहँदै गर्दा आफ्नो समूहको पनि उपयुक्त स्थान दिनुका साथै राय लिनुपर्ने भन्दै देउवालाई चेतावनी दिँदै आएका छन्। पार्टीका बैठक बस्दासमेत आफ्नो समूहको छुट्टै धारणा तय गरेर मात्रै बैठकमा सहभागी हुने गरेका कोइरालाले राष्ट्रिय सभा निर्वाचनमा पनि आफ्नो समूहका नेतालाई उचित स्थान दिनुपर्ने अडानमा छन्। राष्ट्रपतिबाट मनोनीत एक जना र राष्ट्रियसभा अध्यक्षसहित २० सांसदको पदावधि आगामी फागुन ११ गते सकिँदै छ। त्यसको एक महिनाअघि रिक्त पदपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचनको मिति तोकिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार