२३ औं गोधुली कप : धरान १२ र १९ नं. वडा अघिल्लो चरणमा

सोमबार, ०२ माघ २०७९
धरानमा जारी २३ औं टुबोर्ग गोधुली रनिङ कप फुटबल प्रतियोगितामा आज भएको खेलमा विजयी हुँदै धरान १२ र धरान १९ नं. वडा अघिल्लो चरणमा प्रवेश गरेका छन् । धरान रंगशालामा भएको पहिलो खेलमा उपाधी दाबेदार मानिएको धरान ८ लाई ४–२ गोल अन्तरले पराजित गर्दै १२ नं. वडा अघिल्लो चरणमा प्रवेश गरेको छ । धरान १२ का हरि खवासले उत्कृष्ट प्रदर्शन गरेपछि ८ नं. वडा पराजित भएको हो । खवासले ह्याट्रिक गरेका छन् । ८ नं. वडाका सबिन मगरले खेलको चौथो मिनेटमा नै गोल गरी टिमलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्तिम मिनेटमा १२ नं. वडाका मनिष मगरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा १२ नं. वडाका हरि खवासले ३ गोल गरे । उनले दोस्रो हाफको तेस्रो मिनेट, १० मिनेट र ४८ औं मिनेटमा गोल गरेका थिए ।
उता खेलको थप समयमा ८ नं. वडाका सविन मगरले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याएका थिए । खेलको म्यान अफ द म्याच १२ नं. वडाका हरि खवास घोषित भए ।
आजै भएको दोस्रो खेलमा १९ नं. वडाले संघर्षपूर्ण जीत निकालेको छ । १९ नं. वडाले ९ नं. वडालाई १–० गोल अन्तरले पराजित गरेको थियो । १९ नं. वडाका लागि सुचन रम्तेलले निर्णायक गोल गरे । उनले खेलको ३४ औं मिनेटमा गोल गरेका थिए । पुष ३० गतेदेखि माघ १४ गतेसम्म धरान रंगशालामा हुने प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार, उपबिजेताले नगद ७५ हजार र विधागत उत्कृष्टले नगद ५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार