जनताको भाग खोसेर जम्मा हुने ‘कर’ बाट चल्ने सरकार जिम्मेवार हुनुपर्छ । दलहरु जिम्मेवार हुनुपर्छ । राज्य संयन्त्रमा सत्ता गठबन्धन दलहरु जतासुकै हाबी छन्, उनीहरुमाथि निरन्तर खबरदारी आवश्यक छ । बहुमत र अल्पमतको खेलमा चल्ने सरकार बनाउन र टिकाउन जसजसको योगदान रहन्छ, उनीहरुलाई खुसी पार्न सरकारले जेसुकै गर्न पाउनु हुँदैन ।संसद् सांसदहरुको तलब र भत्ता पकाउने थलो मात्रै बनिरहँदा निर्वाचनहरुमा अनपेक्षित नतिजाले पर्खिन्छन् । राजनीतिमा टिकिरहन चाहने नेताहरुले अध्ययन गर्नुपर्छ, तर्कपूर्ण अभिव्यक्ति राख्नुपर्छ । संसदीय अभ्यास नतिजामुखी हुन सकेन भने व्यवस्था नै अफाप हुन्छ । त्यस्तो हुन नदिन सांसद्को काँधमा जिम्मेवारी छन् । आफ्नै दल, आफ्नै सरकारले अघि सारेका एजेन्डा पनि न्यायोचित छैनन् भने जनप्रतिनिधिले विमति प्रष्ट राख्नुपर्छ । सुशासनका लागि जनता निरन्तर खबरदारी चाहन्छन् । त्यसमा खरो उत्रिने जिम्मेवारीका लागि सांसद् आफैंले मनन जरुरी छ । सदनमा पुगेपछि मैले कुन बहसमा भाग लिएँ, के गरेँ, त्यो नतिजामुखी भयो-भएन भनेर स्वमूल्यांकन जरुरी छ । मुलुक रेमिटान्सको भरमा चलेको छ । स्वदेशी उद्योगको साटो आयातमा आधारित बजार बढेको छ । हाम्रा आफ्नै उत्पादन घटे । उद्योगी व्यवसायीमा नयाँ उद्योग खोलेर चलाउनेभन्दा आयातमा आधारित कारोबार बढाउने होड छ । शैक्षिक जनशक्ति स्वदेशमा अडिने चाहना राख्दैन । विदेश पढ्न गएकाहरु फर्किएर काम गर्ने क्षेत्र देख्दैनन् । व्यवस्थापिकाले गम्भीर भएर मनन गर्नुपर्ने क्षेत्र धेरै छन् । त्यसैले जनप्रतिनिधिहरुले सदनमा आआफ्नो उपस्थितिलाई उत्तरदायी बनाउनै पर्छ।
प्रतिक्रिया