स्वास्थ्यमन्त्री बस्नेतले गरे बिर्तामोड नगर अस्पतालको अनुगमन

शुक्रबार, २६ माघ २०८०
झापा । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिर्तामोड नगर अस्पतालको अनुगमन गरेका छन् ।  मन्त्री बस्नेतले शुक्रबार नगरमा संचालनको तयारीमा रहेको डायलासिस कक्षसहितको अनुगमन गरेका हुन् । मन्त्री बस्नेतलाई बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले नगर अस्पताल संचालनमा देखा परेका समस्या र आवश्यक विषयमा जानकारी गराएका थिए । नगर प्रमुख प्रसाईले आमा सुरक्षा कार्यक्रमको अप्रेशन थिएटरमा आवश्यक उपकरणको लागि मन्त्री बस्नेतसंग मागपत्रसमेत बुझाइन् । मन्त्री बस्नेतले आवश्यक उपकरणका विषयमा राज्यको स्रोत र साधनले भ्याएसम्म सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सरकारले नगरपालिका र गाउँपालिकालाई एकैदरमा औषधि प्रदान गर्ने नीति व्यवहारिक नभएको भन्दै उनले यसलाई परिमार्जन गर्न आवश्यक रहेकोले मन्त्रालयमा छलफल गर्ने बताए । सरकारले निःशुल्क प्रदान गर्ने औषधि गाउँपालिकासरह नै बिर्तामोडलाई दिने भएकोले औषधि अभाव हुँदै आएको छ । बिर्तामोडमा ठूलो जनसंख्या रहेकोले औषधि चाँडै सकिने गरेको छ । स्थानीय तहलाई औषधि खरिद गर्ने कानून पनि नभएका कारण सर्वसाधारण मारमा पर्ने गरेका छन् । यसैबीच शुक्रवार नै प्रदेश स्वास्थ्य मन्त्रालयबाट पनि विज्ञसहितको टोलीले डायलासिस कक्षको अनुगमन गरेको छ । नेफ्रोलोजिस्ट डा। निराजन शाह, जनस्वास्थ्यविज्ञ दुर्गा आचार्य, प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा। रामबाबु खड्कासहितको टोलीले अनुगमन गरेको हो । बिर्तामोड नगर अस्पतालमा ६ बेडको डायलासिस सेवा संचालनको तयारीमा छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार