बाँदरको समस्या धेरै भएकाले यस विषयमा राज्यले उपयुक्त निकास दिनुपर्ने माग गर्छिन् पोखरा–१९ लामाचौरकी जानबी आचार्य। ‘अन्नबाली खानेमात्र होइन बच्चा घरमा एक्लै छाड्दा कोपर्छ कि भन्ने समेत चिन्ता लाग्छ। घरभित्रको लसुन, गाँजरसमेत टोकेर फ्याक्ने गर्छ’, उनी भन्छिन्।
महानगरले भने प्रभावित क्षेत्रमा बाँदरले मन नपराउने खेती गर्न सुझाएको छ। बनमा भने बाँदरले मन पराउने फलफूललगायत बाली लगाउने महानगरको योजना छ।
बाँदरले बाली नोक्सान गरेपछि क्षतिपूर्तिका लागि कास्कीका किसानले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए। संरक्षणविद् डा। हुम गुरुङ बस्तीसम्म आउनबाट रोक्न जंगलछेउ बाँदरले मन पराउने बाली लगाउनुपर्ने बताउँछन्।
आहारा खोज्दै सहरतिर
कर्णालीका सहरी क्षेत्र र राजमार्ग आसपास बाँदरले दुःख दिन थालेका छन्। तर, यसको कारणबारे खासै चासो दिएको देखिँदैन। यी जनावर विद्युत्, टेलिफोन र इन्टरनेटका तारमा चढ्ने, घरका छतमा पुग्ने, घरभित्रै पसेर खानेकुरा खाइदिने र सामान तोडफोड गरिदिने गरेका छन्।
अर्कोतर्फ मानिससँग जिस्कने, आक्रमण नै गर्न खोज्ने, बालबालिका र वृद्धवृद्धालाई झम्टिने, बारीमा लगाएको तरकारी र फलफूल खाइदिने, उखेल्ने तथा सामानहरू नै खोस्नेलगायतका समस्याले मानिस त्रसित मात्र छैनन्, बाँदरको आतंकले हैरान भइरहेको अवस्था छ।
यसमा मुख्य तीन कारण रहेको विज्ञहरू बताउँछन्। पहिलो, पहाडी र ग्रामीण बस्तीबाट मानिस सहर छिर्नु र त्यहाँ उत्पादन नभई जग्गा बाँझो भएकाले आहाराको अभावमा बाँदर सहर पस्न थालेका हुन्।
दोस्रो, जंगलमा चितुवाको संख्या बढेर शिकार गर्न थालेपछि सुरक्षित ठाउँ खोज्दै बाँदर सहर तथा मानव बस्तीमा छिर्न थालेको विज्ञको भनाइ छ। तेस्रो, जंगलमा पाइने फलफूल मासिएको र सहरका मानिसले नै खानेकुरा दिएर पल्काउन थालेकाले पनि बाँदरले सहर मन पराउन थालेका हुन्।
‘पहाडबाट सुविधा खोज्दै मानिसहरू सहर पसे। त्यहाँको जग्गा बाँझो भएर अन्नबाली उत्पादन नभएपछि बाँदरले चोरेर खान पाएनन्। जंगलमा पनि बाँदरले खाने फलफूल हराउँदै गए’, बर्दिया राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रमेश थापा भन्छन्, ‘आहाराको अभाव हुन थालेपछि बाँदर पनि मानिससँगै सहरतिर पस्न थाले।’
उनका अनुसार परम्परागतदेखि नै बाँदर घना जंगलभन्दा पनि मानव बस्ती आसपासको जंगलमा बस्दै आएको जनावर हो। ‘बाँदर सहर पस्नुका धेरै कारण छन्’ थापा भन्छन्, ‘सहरका मान्छेले नै बाँदरलाई पल्काएका छन्, बाँदरलाई केरा, बिस्कुट र अन्य फलफूल खान दिन्छन्। खान पाइने भएपछि बाँदरलाई पनि सहर नै मन पर्न थाल्यो।’
अर्कोतर्फ चितुवाको मुख्य आहारा बाँदर हो। चितुवाले जंगलमा शिकार गर्न थालेपछि बाँदरहरू सुरक्षित ठाउँ खोज्दै सहर पस्न थालेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेको भनाइ छ। भन्छन्, ‘चितुवाको संख्या वृद्धि भएको छ। चितुवाले आक्रमण गर्ने भएकाले पनि बाँदर सुरक्षित ठाउँ खोज्दै जंगलबाट सहर र मानव बस्तीमा पस्न थालेका हुन्।’
आवश्यक आहाराको व्यवस्थापन गर्न सके बाँदर जंगलमा नै फिर्ता हुने सरोकारवालाको बुझाइ छ। उनीहरूले यसका लागि जंगलमा वर, पीपल, अम्बा, चिउरीलगायत विभिन्न प्रकारका फलफूल र बिरुवा रोप्नुपर्ने बताएका छन्।
कुकाठ र झाडी फडानी
गुल्मीको रेसुंगा नगरपालिका–१ नम्बर वडा कार्यालयले बाँदर र जंगली जनावरले सास्ती दिएको गुनासो आएपछि कुकाठ र झाडी फडानी सुरु गरेको छ। यस वर्ष आर्दश बोर्डिङदेखि २ नम्बर वडा कार्यालयको सिमानासम्म फडानी गरिएको हो।
वडा कार्यालयले गत वर्ष ४५ दिन बाँदर हेरालु राखेर ३० हजार भुक्तानी गरेको थियो। त्यसबाट कुनै राम्रो प्रतिफल नआएपछि यस आर्थिक वर्ष कुकाठ, बाँस र झाडी फडानी गरी नागरिकलाई सहजता दिने उद्देश्य रहेको वडाध्यक्ष रामप्रसाद पन्थीको भनाइ छ। जसका लागि ७० हजार विनियोजन गरिएको छ।
यससँगै छोराछोरीलाई विद्यालय आवतजावत र बारीमा तरकारी रोप्न थप सहज हुने अपेक्षा लिएको स्थानीयवासी सुन्तली कामी बताउँछिन्। ‘पहिले घनघोर झाडी र रूखका कारण पारी गाउँ देख्न, छोराछोरी स्कुल पठाउन मुस्किल पथ्र्यो,’ उनी भन्छिन्, ‘वडाले झाडी र कुकाठको फडानी गरेपछि बस्तीसंगै मेरो मनसमेत उज्यालो बनेको छ।’
झाडी र कुकाठका कारण बाँदरले हैरानी र धपाउन समेत मुस्किल परेको स्थानीय शान्ता पन्थीको भनाइ छ। जग्गासमेत बाँदरका कारण बाँझो राख्नुपर्ने अवस्था आएको स्थानीय उमाकान्त पन्थी बताउँछन्। आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया