युभेन्टस फुटबल महासंघको कार्वाही, लिगबाट १५ अंक घटाइयो

आइतबार, ०८ माघ २०७९
ट्रान्सफर बजारमा खेलाडी खरिद विक्री तथा अन्य विषयसहित आर्थिक प्रतिवेदनमा सहि हिसाब नदेखाएको भन्दै इटालीको फुटबल महासंघले युभेन्टसलाई कारवाही गरेको छ । युभेन्टसका पूर्व पदाधिकारीलाई फरक फरक प्रतिबन्ध लगाउँदा क्लबको भने लिगमा १५ अंक घटाइएको छ । महासंघका अनुसार क्लबले आर्थिक प्रतिवेदनमा हिसाब मिलाउन आफैं स्रोत जम्मा गरेको थियो । तर क्लबले भने यसप्रति असहमति जनाउँदै अपिल गर्ने जनाएको छ । युभेन्टसले पछिल्ला सिजनमा थुप्रै खेलाडी अनुबन्धित गर्दा प्रतिवेदनमा हिसाब देखाउने क्रममा सहि प्रक्रिया नपुर्याएको आरोप थियो । विशेषगरी कोभिडको समय र क्लबले क्रिस्टियानो रोनाल्डो, आर्थर, डे लिग्ट लगायतका अनुबन्धनमा पारदर्शी नभएको बुझिएको छ ‌। गत अप्रिल २०२२ मा युभेन्टस सहित १० क्लबमाथि छानविन गर्दै कुनै समस्या नरहेको निर्णय आएको थियो । तर युभेन्टस माथि पुन: छानविन गर्दा क्लबको गल्ती‌ देखिएको महासंघले जनाएको छ । क्लबले तत्कालीन अध्यक्ष आन्द्रे एग्नेलीसहित ११ जनालाई ८ महिनादेखि ३० महिनासम्म प्रतिबन्ध लगाएको छ । हाललाई यो प्रतिबन्ध इटालीको फुटबलमा मात्र लागु छ । तर महासंघले युइएफएए र फिफालाई पनि प्रतिबन्धको दायरा बढाउन अनुरोध गरेको छ । एग्नेलीको नेतृत्वमा युभेन्टसले लगातार ९ वर्ष लिग जितेको थियो । तर गत वर्ष भने क्लबले इटाली फुटबलमा सर्वाधिक घाटा बेहोर्नुपरेको थियो । यस कारवाहीसँगै युभेन्टस अंक तालिकामा तेस्रो स्थानबाट दशौं स्थानमा झरेको छ । १८ खेलमा ३७ अंक जोड्दै शीर्ष दुईमा पर्न प्रयासरत क्लब अब च्याम्पियन्स लिगमा छनोट नहुने सम्भावना छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार