धरानमाा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा बुधबार (आज)देखि सेमिफाइनलका खेलहरू सञ्चालन हुँदैछन् ।
आज धरान रंगशालामा धरान ५ र धरान १५ बीच पहिलो सेमिफाइनल खेल हुनेछ । यस्तै, बिहीबार वडा नं. १६ र वडा नं. १७ बीच अन्तिम सेमिफाइनल खेल हुँदैछ ।
५ नं. वडा पहिलो पटक गोधुलीको सेमिफाइनलमा प्रवेश गरेको हो । वडा नं. ५ ले पहिलो खेलमा १३ नं. वडालाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
वडा नं. ३ लाई ३–१ गोल अन्तरले पराजित गरेको ५ नं. वडाले क्वाटर फाइनलमा वडा नं. १ लाई ४–२ गोल अन्तरले पराजित गरेको थियो । ५ नं. वडा प्रतियोगितामा पहिलो पटक गोधुली रनिङ कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
वडा नं. १५ ले पहिलो खेलमा वडा नं. १२ लाई ३–० गोल अन्तरले पराजित गरेको थियो भने क्वाटरफाइनलमा वडा नं. ११ लाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । वडा नं. १५ ले १४ औं संस्करणको गोधुलीको उपाधी जितेको थियो ।
वडा नं. १५ गतवर्षको स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिताको विजेता हो । सुपर ८ लिगमा गोधुलीको क्वाटर फाइनल खेल्ने टोलीहरुले प्रतिष्पर्धा गर्छन् ।
वडा नं. १६ ले पहिलो खेलमा १० नं. वडालाई ३–० गोल अन्तरले पराजित गरेको थियो भने क्वाटरफाइनल खेलमा वडा नं. १४ लाई टाइब्रेकरमा ४–२ ले जितेको थियो ।
१६ नं. वडा गोधुलीको डिफेन्डिङ च्याम्पियन समेत हो । १६ नं. वडाले गतवर्ष फाइनलमा १३ नं. वडालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको थियो ।
वडा नं. १७ ले पहिलो खेलमा वडा नं. ७ लाई ६–० गोल अन्तरले पराजित गरेको थियो भने क्वाटर फाइनलमा वडा नं. २० लाई ५–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । १७ नं. वडा गोधुलीको आयोजक वडाको रुपमा समेत रहेको छ ।
१७ नं. वडाले प्रतियोगिताको १८ औ, १९ औं र २० औं संस्कणमा उपाधि जित्दै ह्याट्रिक गरेको रेकर्ड समेत बनाएको छ ।
पुष ३० गतेदेखि माघ १४ गतेसम्म धरान रंगशालामा हुने प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार, उपबिजेताले नगद ७५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया