कोपा डेल रे:रियल म्याड्रिड र एथलेटिको बिल्वाओ सेमिफाइनलमा

शुक्रबार, १३ माघ २०७९
मड्रिड डर्वीमा अतिरिक्त समयमा जित निकाल्दै रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । रियलले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको एट्लेटिको मड्रिडमाथि ३–१ को पूनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । घरेलु मैदानमा रियलको जितमा रोड्रिगो, कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले गोल गरे । एट्लेटिकोका अल्भारो मोराटाले एक गोल गरे । सान्टियागो बर्नबेउमा बिहीबार राति भएको खेलको १९औं मिनेटमा मोराटाको गोलबाट रियल खेलमा पछि परेको थियो । उनले नाहुइल मोलिनाको पासमा गोल गर्न सफल भएका थिए । एक गोलले पछि परेको रियलले ७९औं मिनेटमा बराबरी गोल फर्कायो । रोड्रिगोले लुका मोड्रिचको पासमा गोल गरेका थिए। त्यसपछि खेल अतिरिक्त समयमा लम्बियो । ९९औं मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटिन पुग्यो । स्टेफन साभिच चार मिनेटको अन्तरमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । उनले एडुआर्डाे कामाभिंगालाई स्लाइडिङ च्यालेन्ज गरेका थिए । १०४औं मिनेटमा कप्तान बेन्जेमाले गोल गर्दै रियललाई २–१ ले अघि बढाए । मार्काे एसेन्सियोले दिएको लो क्रसलाई भिनियसले प्रहार गर्ने प्रयास गरेपनि उनको खुट्टामा लागेर गएको बललाई बेन्जेमाले सहजै गोलमा परिणत गरे । त्यसपछि अतिरिक्त समयको थप गरिएकोपहिलो मिनेटमा भिनिसियसले सोलो गोल गर्दै रियलको जित पक्का गरे । अर्काे क्वाटरफाइनलमा एथलेटिको बिल्वाओले भ्यालेन्सियालाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । बिल्वाओको जितमा इकर मुनिएन, निको विलियम्स र मिकेल भेस्काले गोल गर्दा भ्यालेन्सियाले आत्मघाती गोल उपहार पाएको थियो । यससँगै कोपा डेल रेको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघि क्याटलान क्लब बार्सिलोना र ओसासुनाले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार