देशभित्र गैरआर्थिक भ्रष्टाचारजन्य कार्य बढेको तथा देशबाहिर हुने अवैध लेनदेनको छानबिनमा कानुनको अभाव रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुनासो, गैरआर्थिक भ्रष्टाचार पनि कारबाहीको दायरामा ल्याउन संसदीय समितिको निर्देशनकाठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको तौरतरिकामा व्यापक परिवर्तन आएकाले अपेक्षाकृत काम गर्न नसकेको गुनासो गरेको छ । मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठकमा डाकिएका अख्तियारका पदाधिकारीले देशभित्र गैरआर्थिक भ्रष्टाचारजन्य कार्य बढेको तथा देशबाहिर हुने अवैध लेनदेनको छानबिनमा कानुनको अभाव रहेको बताए । बैठकमा उपस्थित अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको तौरतरिका फेरिएको, गैरआर्थिक भ्रष्टाचारजन्य कार्य बढेको, अनुचित कार्य नै भ्रष्टाचारको जड भएको बताए । उनले अनियमितताका विभिन्न घटनामा लेनदेन नेपालबाहिर हुने गरेको र अन्तर्राष्ट्रिय क्षेत्रको सूचनामै पुग्न सकस भएकाले भ्रष्टाचारजन्य कार्यको कारबाही निष्कर्षमा पुर्याउन लामो समय लाग्ने गरेको बताए । विभिन्न देशसँग द्विपक्षीय सम्झौता नहुँदा अन्तर्राष्ट्रिय क्षेत्रले भ्रष्टाचारसम्बन्धी सूचना दिन नमानेको, धेरै पत्राचार गर्दा पनि कठिनाइ भएर नसकेको गुनासो उनले राखेका थिए । अख्तियारका प्रमुख आयुक्तले भ्रष्टाचारको गैरआर्थिक भ्रष्टाचारजन्य कार्य बढेको बताएपछि संसदीय समितिले गैरआर्थिक प्रकृतिको भ्रष्टाचार पनि कारबाहीको दायरामा ल्याउन आयोगलाई निर्देशन दिएको छ । गैरआर्थिक भ्रष्टाचारजन्य कार्यभित्र कुनै काम गरिदिएबापत उपहार लिने, आफन्तको नियुक्ति गराइमाग्ने, स्वार्थ बाझिने गरी अवसर लिनेजस्ता कार्य पर्दछन् । अनुचित तथा अनियमित कार्यको रूपमा रहेको गैरआर्थिक भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउन निर्देशन दिएको हो । ‘आर्थिक अनियमिततालगायत भ्रष्टाचारको परिभाषाभित्र पर्ने गैरआर्थिक भ्रष्टाचारजन्य कार्यहरूमाथिसमेत प्रभावकारी रूपमा अनुसन्धान गरी कारबाहीको दायरामा आउने गरी कार्यसम्पादन गर्नू,’ अख्तियारलाई लेखा समितिको निर्देशन छ । लेखा समिति बैठकमा उपस्थित अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको तौरतरिका फेरिएको, गैरआर्थिक भ्रष्टाचारजन्य कार्य बढेको, अनुचित कार्य नै भ्रष्टाचारको जड भएको बताए । ‘चौथो तहबाट घुस खाएको भर्खरैको घटनाबाट देखियो । भ्रष्टाचारको नयाँ रूप आएको छ । भ्रष्टाचार संगठित जालो भइसकेको छ । सार्वजनिक पद धारण गरेकोबाहेक अरू नसमेट्दा अरूलाई प्रयोग गरेर भ्रष्टाचार फस्टाएको छ । यदि सेवाग्राहीबाट लिन्छ भने बिचौलियालाई पनि सार्वजनिक पद धारणभित्रै राख्ने भनेका छौँ,’ उनले भने । अहिले सरकारी कार्यालयमा आउने कर्मचारीले काम गर्नेभन्दा आफ्नो वृत्तिविकासका लागि लोकसेवाको तयारी गरेर बस्ने प्रवृत्ति रहेको भन्दै राईले यसमा सुधार जरुरी रहेको बताए । भारतमा निश्चित समय सेवा गर्नैपर्ने नजिर राख्दै राईले भने, ‘यहाँ त सरकारी तलब खाऊ, आफ्नो वृत्तिविकासमा लाग, तयारी गर, काम नगर भन्छ । फेरि विदेश पठाउँछौँ, देशका लागि सेवा गर्नेभन्दा घुम्ने काम हुन्छ । विदेशबाट के सिक्यो, के उपलब्धि भयो थाहा छैन ।’ राईले प्रणालीमा आमूल सुधारका लागि नीतिगत सुधार जरुरी रहेको दोहोर्याए । प्रमुख राईले गैआर्थिक भ्रष्टाचारको विषय उठाएपछि गैरआर्थिक भ्रष्टाचारलाई पनि कारबाहीको दायरामा ल्याउन भनेको हो । समितिले भ्रष्टाचार काण्ड समयमा निष्कर्षमा पुर्याउन पनि भनेको छ । ‘कतिपय विषयमा अनुसन्धान गर्न समय लाग्ने नै हुन्छ । यद्यपि, लामो समयसम्म निष्कर्षमा नपुग्दा आमनागरिकमा आशंका-द्विविधा उब्जिने भएकाले सो विषयलाई समेत मध्यनजर गर्दै आयोगबाट शीघ्र कार्यसम्पादन गर्नू,’ निर्देशनमा छ । यसमा समितिले अख्तियारसहित अनुसन्धान गर्ने सरकारी निकायले कतिपय विषय र अवस्थामा बहुआयामिक अध्ययन, अनुसन्धान, अन्य देशसँग सूचना आदानप्रदान गर्नुपर्ने र सो कार्यका लागि आवश्यकताअनुसार बहुपक्षीय, द्विपक्षीय सम्झौता आवश्यक पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । ‘यद्यपि, यस्ता सम्झौताहरू हुन नसकेको कारण अनुसन्धान कार्य प्रभावित हुन गएको देखिएकाले आवश्यकताअनुसार बहुपक्षीय-द्विपक्षीय सम्झौता गर्ने, संसद्बाट अनुमोदन गराउने कार्यलाई प्राथमिकतासाथ गर्न, गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देश गर्दछ,’ समितिको निर्णयमा छ । आयोजनाहरूमा पनि अन्यमार्फत पैसा लिने प्रवृत्ति मौलाएको उनले बताए । ‘टोटल नेक्सस समेटिने गरी कानुन आयो भने समात्न सकिन्छ । त्यसैगरी, अनक्यापले सबै क्षेत्र अख्तियारभित्र पार भन्छ, हामी सदस्य हौँ । नीतिगत रूपमै राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । पोलिसी करेक्सन जरुरी छ । जन्मदेखि मृत्युसम्म कति कमायो, काम गर्यो भन्ने रेकर्ड राखौँ,’ उनले भने । प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रणका लागि नीतिगत सुधार जरुरी रहेको बताए । अहिलेको ऐनले आयोजनामा मात्रै भ्रष्टाचार हुन्छ भन्ने परिकल्पना गरेको, संविधानले नै अनुचित कार्यको अधिकार नदिएको भन्दै उनले आगामी ऐनमा यी विषयलाई समेट्नुपर्ने धारणा राखे । ऐनमा स्टिङ अप्रेसन पनि समेट्नुपर्ने उनको माग थियो ।
‘नियमावलीमा व्यवस्था गरेर स्टिङ अप्रेसन चलाउँदा सर्वोच्चले रोकिदियो । अहिले मालपोत, नापीमा खुलेयाम लेनदेन भइरहेको छ, तर, अख्तियारले केही गर्न सक्दैन, किनकि अहिले स्टिङ अप्रेसन गर्न पाउँदैन । सेवाग्राहीले पैसा हालेकामा मात्रै पक्रिरहेका छौँ । अब ऐनमै संशोधन गरेर जाने गरी राखेका छौँ,’ उनले भने ।
राईले माथिल्लो तहबाटै भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताए । माथिल्लो तहलाई दोष देखाउन तथ्य प्रमाण आधार चाहिने उनको भनाइ थियो । ‘कर्मचारी मात्रै परे भनिन्छ, कानुनले नै प्रशासनमा सचिवलाई जिम्मेवार बनाएको छ, उसले हस्ताक्षर गर्यो भने पर्यो,’ उनले भने । राईले नीतिगत भ्रष्टाचारको परिभाषा पनि जरुरी रहेको बताए । ‘त्योभन्दा माथि नीतिगत भ्रष्टाचार के हो, के होइन, के–के पर्छ भनेर ऐनबाटै परिभाषित हुन जरुरी छ,’ उनले भने ।
राईले अख्तियार देखाएर काम नगर्ने कर्मचारीलाई ऐनअनुसार दण्डित गर्नुपर्ने बताए । ‘हाम्रा कर्मचारीले काम नगर्ने प्रवृत्ति छ । निजामती सेवा ऐन कानुनमा छुट दियौँ ।
विभागीय प्रमुखले काम नगरेमा स्पष्टीकरण सोधेको थाहा छैन । कारबाही नगर्नुमा उनको पनि बाध्यता होला, ट्रेड युनियन छन्, दबाब होला,’ उनले भने, ‘यसरी हेर्दा विभागीय कारबाही त परको कुरा हो, कुनै पनि कर्मचारीलाई काम नगरेको भनेर स्पष्टीकरण नसोधेपछि कसरी काम हुन्छ रु’
सांसदहरूका सुझावैसुझाव
सांसदहरूले अख्तियारले सानालाई मात्र कारबाही गरेको र ठूलोलाई उन्मुक्ति दिएको प्रश्न उठाए । राजनीतिक नियुक्ति भएकाले राजनीतिक नेतृत्वप्रति अख्तियार पदाधिकारीले आशक्ति देखाएको सांसदहरूको आंशका थियो । अख्तियारलाई थप प्रभावकारी र निष्पक्ष बनाउन खुला प्रतिस्पर्धाबाट नियुक्ति, अख्तियारको संरचना र जनशक्ति प्रविधिमैत्री तथा समृद्ध बनाउनुपर्ने सांसदहरूको धारणा छ ।
बेनामे उजुरीले सेवाप्रवाहमा अवरोध भएको, प्रतिशोध साध्ने हतियारका रूपमा दुरुपयोग भएको उल्लेख गर्दै सांसदहरूले उजुरीको परीक्षण हुनुपर्ने सुझाएका थिए । मुद्दा तामेलीमा राख्नेभन्दा सफाइ पाउने वा दण्डित हुने गरी सक्रिय अनुसन्धान गर्न अख्तियारका पदाधिकारीको ध्यानाकर्षण गराए ।
कर्मचारीतन्त्रमा अख्तियार देखाएर फाइल अगाडि नबढाउने प्रवृत्ति बढेको भन्दै यसमा ध्यान दिनुपर्ने सांसदहरूको जोड थियो । ‘अख्तियारले आफ्नै संयन्त्र र आफूबाट हुने कामको पनि स्वअनुगमन गरोस् ।
कर्मचारी नतर्सिने र निर्णय हुने वातावरण बनाउनुपर्यो, छानबिन गर्दा नतर्सिने, तर सत्य पत्ता लाग्ने गरी अनुसन्धान गरौँ,’ सांसद जनार्दन शर्माले भने । स्थानीय तहबाट आएका उजुरी तल नै प्रारम्भिक अध्ययन गर्ने व्यवस्था गर्न उनको सुझाव थियो ।
बेनामे उजुरी हटाएमा उजुरी नै नआउने भन्दै राईले थपे, ‘नाम हालेर उजुरी दिने व्यवस्था गरियो भने अहिलेको २८ हजार उजुरीमा २८ वटा पनि आउँदैन । अब कस्तो उजुरी लिने, कस्तो नलिने हेर्नुपर्छ । अब सबै ठाउँमा एउटै खालको उजुरी हालेर हैरानी गर्ने प्रवृत्ति छ ।’
कर्णाली करिडोरमा आयोजनाबारे १८ वटा अलग अलग निकायमा उजुरी परेको र सबै ठाउँमा आयोजना प्रमुखको ब्रिफिङ गर्न नै ६ महिना लागेको उल्लेख गर्दै राईले सबैमा उजुरी दिन मिल्ने कि नमिल्ने, रिमार्केसन गर्नुपर्ने बताए । ‘ऐनको दायराभित्रको उजुरी मात्र लिने र बाँकी सम्बन्धित निकायमा पठाउने गरेका छौँ । त्यो भएपछि प्रभावकारी हुन्छ,’ उनले भने ।
ठूला भ्रष्टाचारको अनुसन्धानमा कति प्रगति ?
लेखा समिति बैठकमा प्रमुख आयुक्त प्रेमकुमार राईले समितिबाट विभिन्न मिति र विषयमा शीघ्र अनुसन्धान गरी निष्कर्षमा पुग्न र कानुनी प्रक्रियामा लैजान आयोगलाई दिएका निर्देशनहरूको कार्यान्वयनको अवस्था तथा कार्य प्रगति जानकारी गराएका थिए ।
लेखाबाट आएका १८ वटा प्रकरणमध्ये नेपाल एयरलाइन्सको वाइडबडी खरिद प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको राईले बताए ।
प्रमुख आयुक्त राईले सेक्युरिटी प्रेसको विषय पनि अनुसन्धान भइरहेको भन्दै पोख्त प्रमाण र आधार नभई कसैलाई दोष लगाएर लान नमिल्ने बताए ।
समितिबाट आएको चमेलिया जलविद्युत्को सम्बन्धमा ०७६ मा आयोगबाट अनुसन्धान भएको र टुंग्याउन मात्रै बाँकी रहेको उनले बताए । चिनीको तोकिएको मूल्य सम्झौता कार्यान्वयन नगरिएको विषय पनि चाँडै टुंग्याइने उनले बताए ।
कैलाली, सिन्धुली, कञ्चनपुर र कपिलवस्तुमा वैज्ञानिक वन व्यवस्थापनका नाममा भएको अनियमिततासम्बन्धी चारवटा मुद्दामा अनुसन्धान ५० प्रतिशतसम्म पुगेको बताए । ‘चार सयजति वन उपभोक्ता समिति भएकाले अनुसन्धान गर्न गाह्रो भएको छ । तर, टुंगोमा पुर्याउँछौँ,’ उनले भने । यो प्रकरणमा कर्मचारीको सम्पत्तिको छानबिन गरेर तीनजनालाई मुद्दा लगाएको, एकजनाले अदालतबाट सफाइ पाएर पुनरावेदनमा जान लागेको बताए ।
दुइटा विचाराधीन रहेको र तामेलीमा रहेको उनले बताए । यसैसँग सम्बन्धित छुट्टै जाल्पादेवी सामुदायिक वनको मुद्दा टुंगिएको र यसमा केही नभेटिएर तामेलीमा राखिएको उनको भनाइ थियो ।
प्रमुख आयुक्त राईले प्रिमियम मूल्यमा सेयर जारी गरेको धितोपत्र बोर्डको विषय आफैँले छानबिन पनि गर्ने र अर्थ मन्त्रालयलाई पनि प्रतिवेदन मागेर दुईतिरबाट अनुसन्धान गरिरहेको भन्दै यो मुद्दालाई गम्भीर रूपमा लिएको बताए ।
प्रमुख आयुक्त राईले सूचना प्रविधिसम्बन्धी टेरामक्स खरिद प्रकरणमा बयानको क्रमलाई टुंग्याएको र अब अध्ययन–अनुसन्धान गरेर यसलाई फम्र्याटमा ल्याउने र तथ्य र प्रमाणलाई केलाउने कार्य भइरहेको भन्दै केही दिनमा नतिजा आउने बताए । ‘यसमा हामी करिब–करिब अनुसन्धानको अन्तिम चरणमा पुगेका छौँ,’ उनले भने ।
लुम्बिनीको रामग्राम जग्गा लिज प्रकरणमा प्रारम्भिक छानबिन सुरु गरेको भन्दै राईले विस्तृत अनुसन्धानमा केही समय लाग्ने जानकारी गराए । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको राजस्व छली प्रकरणमा छानबिन भइरहेको उनले बताए ।
यसबाहेक समितिबाट निर्देशन भएबमोजिम रेकर्डमा नरहेका कतिपय विषय पनि छानबिनकै चरणमा रहेको उनले स्पष्ट पारे । तारागाउँ विकास समिति जग्गा अनियमितता प्रकरण अख्तियारबाट टुंगिइसकेको र आवश्यक कारबाहीका लागि पर्यटन मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए ।
आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया