संसद्मा अनुभवीहरूलाई लामो निरन्तरता दिनुपर्छ: तिमिल्सिना

आइतबार, २० फागुन २०८०
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्मा अनुभवहरूलाई लामो निरन्तरता दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा आइतबार बोल्दै उनले संसद्मा नयाँले सिक्ने र अनुभवीहरूले नै परिष्कृत कानुन बनाउन सक्ने भएकाले अनुभवीहरूलाई निरन्तरता दिनुपर्ने बताएका हुन् । उनले भने, ‘संसदमा भनेको अनुभवीहरूले नै त्यसलाई अझ परिष्कृत बनाउने हो । नयाँ पनि आउने तर अनुभवहरूलाई लामो निरन्तरता दिने हो । विश्वका संसदीय अभ्यासमा पनि त्यही छ । हाम्रो अलि केही पटक भएपछि प्रश्न उठ्छ । किनभने हामीले राम्रो कतै गरेनौँ की, गरेकोलाई सम्प्रेषण गरेनौँ की ? परिणाम दिनेगरी अनुभवलाई त निरन्तरता दिनुपर्ने हुन्छ । सबै नयाँ भयौँ भने पनि त्यो सभाले खोजे जत्तिको सबै दिन सक्दैनौँ । त्यसैले अनुभवलाई पनि लिँदै र नयाँले पनि सिक्दै समिश्रणमा जाने हो ।’ विधि निर्माणमा अझै मेहनत गर्न आवश्यक रहेको उनले बताए । विधि निर्माण गर्दा व्यक्ति र संस्था केन्द्रित भएर गर्दा टिकाउ नहुने भन्दै सिंगो देश र जनताको फाइदामा हुनेगरि गर्न आवश्यक उनको भनाइ छ । विधि निर्माणमा अझ मेहेनत गर्ने लाग्ने त्यसका प्रत्येक पक्ष दुरगामी, यहाँ अहिले के छ भने विधि निर्माणमा व्यक्ति र एउटा संस्था केन्द्रित भएर निर्माण गर्ने छ । त्यो टिकाउ हुँदैन,’ उनले भने, ‘त्यसैले हामीले सिंगो देश र देशको नागरिक दुई चिजलाई केन्द्रमा राखेर देश र आम नागरिकलाई के फाइदा हुन्छ सोच्नुपर्छ मलाई के हुन्छ होइन ।’ २०७४ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका अध्यक्ष तिमिल्सिनासहित २० जनाको पदावधि पुरा भएको छ । उनीहरुलाई आइतबार बिदाइ गरिएको हो । कार्यकाल सकिएर बिदा हुनेमा एमालेका नौ, कांग्रेसका चार, माओवादी केन्द्र र एकीकृत समाजवादीका तीन÷तीन र जसपाका एक जना सांसद छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार