सुहाङ नेम्वाङ, एमाले उम्मेदवार
तपाईंको उम्मेदवारी किन ?
अहिलेको आवश्यकता र परिस्थिति अनि युवा हुनुका नाताले म चुनावी मैदानमा होमिएको हो । एमालेले अघिदेखि नै यो क्षेत्रमा जित्दै आएको छ । विकासका काम पनि निरन्तर गरिरहेकै छ । मेरो काँधमा आएको गहन जिम्मेवारी पूरा गर्न, रोजगारी सिर्जना गर्नुका अतिरिक्त विकास निर्माणका काम गर्न उम्मेदवारी दिन लागेको हुँ ।
एमालेलाई पहिचानविरोधी पार्टीको आरोप लागेको छ । तपाईंका धेरै मतदाता पहिचान पक्षधर देखिन्छन् । तपार्इं एक किसिमले घेराबन्दीमै हुनुहुन्छ । यस्तो परिस्थितिलाई कसरी सामना गर्दै हुनुहुन्छ ?
यसको जवाफ दुई तरिकाले दिन चाहन्छु । सुरुमा स्पष्ट पार्न चाहन्छु कि नेकपा एमाले कहिल्यै पनि पहिचानविरोधी थिएन । किनभने संविधान निर्माणकै बखतलाई हेरौं न ।
आदिवासी, जनजातिका हकअधिकार सुनिश्चित गर्ने काम एमालेले गरेको छ । महागुरु फाल्गुनन्दकै कुरा गर्न सक्छौं । उहाँलाई राष्ट्रिय विभूति बनाउने मुख्य जिम्मेवारी एमालेले नै निर्वाह गर्यो । पहिचान पक्षधरले घेराबन्दी गर्ने कुरा हल्लामात्रै हो । पहिचान पक्षधरहरूले मलाई सहयोग नै गर्ने विश्वास छ ।
तपाईंको उम्मेदवारीलाई परिवारवादको आरोप पनि लागेको छ । कसरी खण्डन गर्नुहुन्छ ?
सर्वप्रथम त परिवारवाद भनेको के हो भन्ने कुरा बुझ्न जरुरी छ । यो जुन भाष्य प्रयोग भइरहेको छ, त्यो अहिले प्रयोग गर्न मिल्दैन जस्तो लाग्छ । यो विशेष परिस्थितिमा भएको चुनाव हो ।
म जनतासमक्ष पुग्नैपर्छ । एजेन्डा राख्नैपर्छ । जनताले मेरा एजेन्डा मन पराएपछि बल्ल म अनुमोदित भएँ भने सांसद बन्ने हो । एमालेले मलाई छान्नुअघि विभिन्न चरण पूरा गरेको छ । जिल्ला तहदेखि नै मेरो पक्षमा निर्णय भएको हो । त्यसैले परिवारवादको भाष्य गलत हो भन्ने लाग्छ ।
म सबै पहिचानको सम्मान हुने राजनीतिको पक्षमा छु
मिलन लिम्बू, रास्वपा उम्मेदवार
तपाईंको जित्ने आधार के हो ?
केही वर्षयता नेपाली समाजमा निराशाको प्रतिशत बढिरहेको आकलन गरिँदै छ । हिजोका दिनमा परिवर्तनको आन्दोलनमा म पनि सहभागी थिएँ । परिवर्तनको संवाहक मानिने कुनै राजनीतिक दलसँग म हिजोका दिनसम्म पनि आबद्ध थिएँ । तर, उनीहरूको शैली, संगठन र उद्देश्य जनतामा डेलिभरी दिने भन्दा पनि आफू शक्तिको केन्द्रमा कसरी टिकिरहने भन्ने दाउपेचबाट ग्रस्त रहेको पाएँ ।
आफ्नो मतको सम्मान होस् भन्ने सामान्यभन्दा सामान्य चाहना राख्ने इलामेली नागरिकले यस पटकको निर्वाचनमा विद्रोह गर्दै छन् । मेरो जितको आधार जनताको ब्यालेट विद्रोह हो ।
पत्रकारिता छाडेर एक्कासि राजनीतिमा आउनुभयो, यो परिस्थिति कसरी बन्यो ?
जनताका गुनासो लिएर धेरै सरकारी अड्डा र दलका नेताकोमा धाएँ । उनीहरूसँग अनुनय, विनय गरें । सोचेजस्तो परिणाम निकाल्न धेरै प्रयास गर्दा पनि नसकिने देखेपछि मलाई के लाग्न थाल्यो भने गुनासो लिएर उनीहरूकामा जानुको सट्टा जनताका दुःख समाधान गर्ने ठाउँमै पुग्नुपर्छ । त्यसैले स्वतन्त्र उम्मेदवारी घोषणा गरेर इलामको निर्वाचनमा होमिएँ । म चुनावमा होमिएपछि रास्वपाका साथीहरूसँग गहन संवाद हुन थाल्यो । त्यसपछि उहाँहरूसँगै देश निर्माणमा अघि बढ्ने निधो गरें ।
पहिचानविरोधी पार्टीबाट उम्मेदवार बनेको आरोप छ नि ?
तपाईंले भनेको पहिचानको जग हाल्ने पार्टीमा आबद्ध भएको म रातारात पहिचानविरोधी हुने र पहिचानविरोधी भनेर चिनिने पार्टीमा आबद्धहरू पहिचानको पक्षधर हुने कसरी हुन्छ होला त रु मलाई के लाग्छ भने यी सबै निर्माण गरिएका भाष्य हुन् ।
चुनावी मैदानमा निर्माण गरिएका भाष्यका आयु छोटा हुन्छन् । म सबै पहिचानको सम्मान गरिने व्यवस्था र राजनीतिक संस्कारको पक्षमा छु ।
आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया