कोशीबाट अन्तरप्रदेश खेलकुदमा सहभागी हुने खेलाडीहरूलाई गरीयो बिदाइ

शनिबार, २४ चैत्र २०८०
इटहरी । चितवनमा भोलि आइतबार देखि सुरु हुने अन्तरप्रदेश खेलकुदमा सहभागी हुने कोशी प्रदेशका खेलाडीहरूलाई बिदाइ गरिएको छ । शनिबार इटहरी रंगशालामा कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले, उपाध्यक्ष विन्दिया कार्की लगायतले खेलाडीहरूलाई बिदाइ गरेका हुन् । चितवनमा आइतबारदेखि आगामी वर्षको वैशाख १ गतेसम्म बाग्मती प्रदेशको आयोजनामा अन्तर प्रदेश खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ । चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले प्रतियोगिताको उद्घाटन गर्ने छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुने छ । पुरुष फुटबलबाहेक सबै खेल चितवनमा हुने छ। पुरुष फुबटल हेटौंडास्थित गौरीटार रंगशालामा हुने छ । प्रतियोगितामा एक सय ३६ स्वर्ण, एक सय ३६ रजत र एक सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः पाँछ हजार,चार हजार र तीन हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ । टिम च्याम्पियनलाई चाँदीको रनिङ सिल्ड प्रदान गरिने छ । उक्त प्रतियोगितामा कोशी प्रदेशबाट दुई सय ५३ खेलाडीको सहभागिता रहनेछ । महिला क्रिकेट र स्विमिङका खेलाडी भने चितवन पुगिसकेका छन् । आज फुटबलतर्फ ४०, भलिबलका २८, तेक्वान्दोका २५, एथलेटिक्समा ३९, करातेमा २४, बक्सिङमा १७ र ब्याडमिन्टनमा ८ जना गरि एक सय ८१ खेलाडी त्यसतर्फ हिँडेका हुन् । खेलाडीहरूलाई बिदाइ गर्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रदेशको मात्र नभएर सिंगो राष्ट्रको नाम राख्नेगरी खेल्न आग्रह गरे । पदक जितेर प्रदेशको नाम उचो राख्न म खेलाडीहरूलाई आग्रह गर्छु, त्यतिमात्र नभएर खेल प्रतिभा देखाएर रेकर्ड बनाउँदै देशको नाम राख्न सफल हुनुहोस् । यस्तै, कोशी प्रदेश खेलकुद विकास बोर्ड सदस्य सचिव हंसराज वाग्लेले प्रतियोगितामा सहभागी हुने खेलाडीको तयारीलाई आधार मान्दा उत्कृष्ट नतिजा आउने आँकलन गरे । विभागीय खेलाडीको सहभागिता नरहने भएकाले पनि नतिजा राम्रो हुने बताउँदै उनले भने, यसपालि तयारी राम्रो छ । समूहतर्फको भलिबल, फुटबलमा र महिला क्रिकेटतर्फ मेडलको अपेक्षा गरेका छौं । स्विमिङका खेलाडी प्रतियोगिता खेल्न अमेरिका गएका कारण त्यसबाट आउने मेडल गुम्ने पक्का छ । तर समग्रमा राम्रो छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार