को हुन् जितबहादुर ?
जोगमाई गाउँपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा राई अनेरास्यवियुको विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । युवावस्था देखि नै राजनीतिमा होमिएका उनी अविवाहित छन् ।
झलनाथ खनाल र एमाले नेता स्व सुवासचन्द्र नेम्बाङ निकट व्यक्ति रहेका राई ०५६ सालदेखि ०५८ सालसम्म अनेरास्यवियुको जिल्ला अध्यक्ष थिए ।
विद्यार्थी र युवाले रुचाएका उनी युवा संघ नेपाल इलामको जिल्ला अध्यक्षसमेत बने । ०६३ युवा संघ नेपालको केन्द्रीय सदस्य भएका उनी बुटवल महाधिवेशनमा भने युवा संघको केन्द्रीय सचिवमा पराजित भएका थिए ।
उनी आफू हालसम्मका कुनै पदमा हार नखाएको बताउँछन् ।
युवा संगठनपछि पार्टीको राजनीतिमा प्रवेश गरेका राईले स्नातक तहसम्म अध्ययन गरेका छन् । एमाले जिल्ला कमिटी सचिवालय सदस्य हुँदै ०७४ को स्थानीय तहको निर्वाचनमा इलामको माईजोगमाई गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यो बेला राईले ५ हजार ६ सय ३९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिटी शेर्पाले ३ हजार ९ सय ३६ मत प्राप्त गरेका थिए ।
राईले आफू गाउँपालिकामा अध्यक्ष हुँदा कृषि, पर्यटन, शिक्षा र पुर्वधारको क्षेत्रमा उल्लेखनीय काम गरेको बताउँछन् । नेकपा हुँदा जिल्ला कमिटी सचिवालय सदस्य समेत भएका राई नेकपा फुटेपछि झलनाथ निकट रहे । उनी जिल्ला खेलकुद विकास समितिको अध्यक्षसमेत भइसकेका छन् ।
संघर्षशील कृषकको समेत छवि बनाएका राई अचेल कृषिकर्ममा सक्रिय छन् । जनताले आफूलाई उम्मेदवार बन्न आग्रह गरेको र पार्टीले पनि विश्वास गरेका कारण फेरि राजनीतिमा होमिएको उनी बताउँछन् ।
राईको माईजोगमाई गाउँपालिका २ मा ‘जोरकटेरी कृषि फार्म’ छ । आफू पशुपालन व्यवसाय तथा कृषिबालीसँगै इलाम–२ का जनताको समस्या बुझेको उम्मेदवार भएको दाबी गर्छन् ।
स्थानीय उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्दै हरेक व्यक्तिलाई आधुनिक कृषिमा जोड्ने राईको योजना छ ।
राई इमान्दार व्यक्ति भए पनि इलाम–२ को विगतको अंकगणितमा भने नेकपा एकीकृत समाजवादीको मत एमाले र कांग्रेसभन्दा धेरै कमजोर देखिन्छ । तथापि आफ्नै सत्ता गठबन्धनमा रहेको एमालेको मत काट्नका लागि भने जीतबहादुरको उम्मेदवारीले भूमिका खेल्न सक्छ ।
त्यसो त एकीकृत समाजवादीले जस्तै सत्ताघटककै अर्को दल रास्वपाले पनि मिलन लिम्बुलाई उठाएका कारण एमालेको पकड रहेको इलाममा विपक्षीलाई फाइदा हुने आकलन पनि गरिँदैछ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने इलाममा चमत्कार हुने र जीतबहादुर जित्ने दाबी गरेका छन् । उनले भनेका छन्, ‘नामै काफी छ, जीतबहादुरले जित्छन् ।’ खबरहब
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर
प्रतिक्रिया