भ्रमण दलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान, यातायातसम्बन्धी मन्त्री जसिम विन सैफ अल सुलाती, वाणिज्य तथा उद्योगमन्त्री शेख मोहम्मद बिन हमाद बिन कासिम, परराष्ट्र राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी, अमिरी दिवानको अध्ययन र अनुसन्धान विभागका निर्देशक साद बिन नासेर अलकाबी, कतार लगानी प्राधिकरण (क्युआइए)को एसिया र अफ्रिका लगानी प्रमुख शेख फैसल बिन थानी अल थानी, परराष्ट्र मन्त्रालयको एसिया मामिला विभाग प्रमुख युसुफ सुल्तान लाराम, अमिरको स्वकीय सचिवालयका प्रमुख बिन घनिम अल्होदैफी, राजदरबारको समारोह विभागका सहायक निर्देशक तलाल बिन अल्मास अल सुलती तथा अमिर (राजा)का निजी सहायक मन्सुर फलेह अल–हजरी सहभागी छन् । राजा थानी र प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रपति पौडेलले मंगलबार साँझ होटेल सोल्टीमा राजकीय भोज आयोजना गरे ।
कतारी राजाको सुरक्षामा प्रविधिको अधिकतम प्रयोग
नेपाल भ्रमणमा रहेका कतारी राजा अमिर शेख तामिम बिन हमाद अल थानीको सुरक्षामा प्रविधिको अधिकतम प्रयोग गरिएको छ । प्रहरीका अनुसार राजा सवार हुने रुट, बस्ने होटेल र तय भएका कार्यक्रमस्थल सुरक्षाका लागि प्रविधिको अधिकतम प्रयोग गरिएको हो ।
जसमा ड्रोन, सिसिक्यामेरा, ज्यामरलगायत प्रविधि प्रयोग गरिएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी अवदेश विष्टले राजाको सुरक्षामा प्रवधिको अधिकतम प्रयोग गरिएको बताए । ‘कतारी राजा नेपाल भ्रमणमा छन् । उनको सुरक्षामा प्रविधिको अधिकतम प्रयोग गरिएको छ । जसमा ड्रोन, सिसिक्यामेरा, ज्यामरलगायत प्रविधि प्रयोगमा ल्याइएका छन् । भिभिआइपी भ्रमणका क्रममा प्रहरीले अख्तियार गर्ने यो नियमित सुरक्षा प्रबन्ध हो ।’
दुईदिने भ्रमणमा रहेका थानीलाई सोल्टी होटेलमा राखिएको छ । होटेलआसपासको सुरक्षा निगरानी गर्न प्रहरीले ड्रोन उडाएको छ । आसपासका सिसिक्यामेरालाई चुस्त बनाएको छ ।
सवारी रुटआसपासको सुरक्षामा पनि प्रहरीले ड्रोन र सिसिक्यामेरा दुवैलाई प्रयोगमा ल्याएको छ । यस क्रममा ज्यामरको पनि प्रयोग गरिएको छ । थानीको भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तिनकुने–नयाँ बानेश्वर–थापाथली–त्रिपुरेश्वर–कालिमाटी र त्रिपुरेश्वर–केशर महल–लाजिम्पाट हुँदै शीतलनिवास रुट प्रयोग गरिएको छ ।
त्यस्तै, राजा सवार हुने रुटमा सुरक्षाकर्मीको सहभागिता व्यापक रूपमा बढाइएको छ । सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरीलाई खटाइएको छ । दोस्रो घेरमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई पनि खटाइएको छ । सवारी अवधिभर रुटआसपासका क्षेत्रको आवागमन बन्द गरिएको छ ।
आज प्रधानमन्त्री प्रचण्डसँग वार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी राजा थानीबीच बुधबार बिहान १०स्३५ मा होटेल सोल्टीमा औपचारिक वार्ता हुनेछ । भेटवार्तापछि खेलकुद, शिक्षालगायतका क्षेत्रमा हुने द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्डले राजा थानीको सम्मानमा बुधबार होटेल द्वारिकाज्मा दिवाभोज आयोजना गरेका छन् । दिवाभोजमा सहभागी भएर थानी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ ।
आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया