काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई केन्द्रमा राख्दै वैकल्पिक राजनीतिको रंगोली कोरिन थालेको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि पहिलो र दोस्रो दलका रूपमा स्थापित नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकारको प्रभावमा निर्माण भएको भनिएको सत्तालाई चुनौती दिनेगरी उदाएको वैकल्पिक राजनीतिको रङ जेन–जी आन्दोलनपछि होली र दीपावलीको रंगोलीझैँ झन् गाढा बन्दै गएको छ।
निर्वाचन आयोगले प्रत्यक्ष तथा समानुपातिक निर्वाचनतर्फका कार्यतालिका र कार्यक्रम सार्वजनिक गरेसँगै राजनीतिक दलहरूको गतिविधि तीव्र बनेका छन्।
जेन–जी आन्दोलनपछिको अन्तरिम सरकार र आन्दोलनअघि नेतृत्वमा रहेका राजनीतिक दलहरूबीच देखिएको संवादहीनता अन्त्य हुँदै जाँदा देशमा निर्वाचनको माहौल थप स्पष्ट बनेको छ। आगामी फागुन २१ गते तय भएको निर्वाचन मिति नजिकिँदै जाँदा वैकल्पिक राजनीतिका लागि आन्दोलनको ‘ह्विसलब्लोअर’ मानिएका बालेनलाई केन्द्रमा राखेर राजनीति अघि बढेको देखिन्छ।
मङ्गलवार, बुधवार र बिहीबार भएका दिनभरका गतिविधिले वैकल्पिक राजनीतिका नाममा आ–आफ्ना अभियान सञ्चालन गरिरहेका शक्तिहरू एक ठाउँमा उभिनसक्ने आधार खोजीमा रहेको र त्यसको नेतृत्व बालेनले गर्नसक्ने सङ्केत देखिएको छ।
तत्कालीन राजनीतिक दलहरूको गतिविधि र काँग्रेस–एमाले गठबन्धन सरकारप्रति चर्को असन्तुष्टि रहे पनि बालेन मौन बस्ने र निर्णायक समयमा ‘मुभ’ गर्ने व्यक्तिका रूपमा चिनिन्छन्। निर्वाचित भएदेखि नै माला नलगाउनेदेखि मिडियामा अन्तर्वार्ता नदिने अडानमा रहेका बालेन खास समयमा सामाजिक सञ्जालमा लेख्ने ‘स्ट्याटस’का कारण चर्चा र विवादमा आउने गरेका छन्।
जेन–जी आन्दोलनलाई ऊर्जा थप्ने गरी उनले लेखेका स्ट्याटस, अभिव्यक्ति तथा गणतन्त्र स्थापना सङ्घर्षदेखि निरन्तर सत्तामा रहेका दलहरूको गतिविधिप्रति आक्रोश बढाउन उनका भूमिका निर्णायक मानिन्छन्। जेन–जी आन्दोलनका क्रममा सिंहदरबार जलेपछि काठमाडौँ महानगरका मेयर शाह विवादमा तानिएका थिए।
श्रीमतीलाई अस्पताल लैजान लागेको भनिएको सरकारी गाडी कोटेश्वरमा रोकिनु, ‘सिंहदरबार जलाइदिन्छु’देखि ‘फोहोर सिंहदरबारमा खन्याइदिन्छु’सम्मका अभिव्यक्ति र आन्दोलनताका उनका गतिविधि सुनियोजित थिए भन्ने आरोप सामाजिक सञ्जालमा व्यापक रूपमा फैलियो।
जेन–जी आन्दोलनकै बेला आन्दोलनपछिको अवस्था नियन्त्रण र अन्तरिम सरकारको नेतृत्वका लागि पटक–पटक प्रस्ताव आउँदा पनि बालेन मौन नै बसे। सोही मौनताकै बीच उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बन्ने सङ्केत दिएका थिए। आन्दोलनकारीलाई ‘सेनासँग वार्ता गर्नु’ भन्ने उनको स्ट्याटसकै आधारमा नेपाली सेना र आन्दोलनकारीबीच संवाद सुरु भएको बताइन्छ।
जेन–जी आन्दोलनदेखि अन्तरिम सरकार गठनसम्म निर्णायक भूमिका खेलेका बालेन अब आगामी राजनीतिमा पनि आफू निर्णायक बन्ने गरी खुलेका छन्। पछिल्ला केही दिनयता उनले विभिन्न व्यक्ति तथा दलका नेतासँग खुला भेटघाट गरिरहेका छन्, जसलाई उनका निकटस्थहरूले राजनीतिक गतिविधिकै रूपमा व्याख्या गरेका छन्।
‘वैकल्पिक राजनीति’को नाराले चर्चामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रशासनिक सफलताका कारण चर्चित नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङसँग बालेनले समानान्तर छलफल गरेका छन्। जेन–जी आन्दोलनकी सक्रिय अभियन्ता रक्षा बमदेखि आन्दोलनका नेताहरूलाई साझा नेतृत्वमा आउन तयार रहेको सन्देशसमेत उनले दिएका छन्।
रास्वपा सभापति लामिछानेसँग पटक–पटक भेटघाट गरेका बालेनको पहलमा ‘वैकल्पिक राजनीतिका एजेन्डा बोकेकाबीच संवाद र सहकार्य’का विषयमा छलफल भइरहेको रास्वपाका नेताहरू बताउँछन्। अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङसँग समेत यस विषयमा भेटवार्ता भएको उनीहरूको दाबी छ।
विश्लेषकहरूका अनुसार वैकल्पिक राजनीतिको नेतृत्वका लागि बालेनलाई तयार पार्दै अन्य सम्भावित दल र प्रभावशाली समूहलाई वरिपरि राखेर समानान्तर रूपमा नेतृत्व गर्नसक्ने रहस्यमयी पात्रका रूपमा उनलाई उभ्याउने प्रयास भइरहेको छ। काठमाडौँ महानगरपालिकाका जनताको जनादेशअनुसार पूरा कार्यकाल मेयरकै रूपमा काम गर्नुपर्ने भन्दै बालेनले बारम्बार आवाज उठाउँदै आएकाले पनि उनलाई साझा नेतृत्वकर्ताको रूपमा अघि सारिएको विश्लेषण छ।
धनगढीका मेयर गोपी हमालदेखि धरानका हर्क साम्पाङसम्म, कलाकारदेखि प्रशासक, सेलिब्रेटीदेखि कन्टेन्ट क्रिएटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसम्मलाई समेट्नसक्ने क्षमता बालेनमा रहेको भन्दै उनलाई नेतृत्वमा ल्याउने पहल तीव्र बनेको छ।
जेन–जी आन्दोलनका बेला सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले हालै महाधिवेशन सम्पन्न गरेको छ। पार्टीभित्र ‘जेन–जी आन्दोलनको भावना सम्बोधन गर्नुपर्छ’ भन्ने समूह महाधिवेशनमा कमजोर बनेपछि त्यसको प्रभावस्वरूप एमालेभित्रकै केही समूह बालेनकेन्द्रित वैकल्पिक राजनीतितर्फ आकर्षित भएको देखिन्छ।
नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीलगायत नेतृत्वसँग खुलेर असन्तुष्टि जनाउँदै आएका केही नेताहरू पनि बालेन नेतृत्वको अभियानमा जोडिन इच्छुक रहेको उनको सचिवालयको दाबी छ।
यदि शाह नेतृत्वमा वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिन नसके सामाजिक सञ्जालको तरङ्ग र बालेनका ‘अदृश्य समर्थक’को बलमा लौरो चिह्न बोकेको देश विकास पार्टीको नामबाट निर्वाचनकेन्द्रित अभियान सुरु गर्ने सङ्केतसमेत दिइएको छ।
बुधवार प्रशासन, व्यवसाय तथा कूटनीतिक क्षेत्रमा सक्रिय व्यक्तिहरूसँग ‘वान–टु–वान’ भेटघाट र बिहीबार बहुपक्षीय छलफल गरेपछि बालेनका दुवै विकल्प सार्वजनिक भएको विश्लेषकहरू बताउँछन्। सम्भव भए साझा वैकल्पिक मोर्चा, नभए लौरोको सहारामा राजनीतिक यात्रा तय गर्ने बालेनको सङ्केतसँगै निर्वाचनकेन्द्रित राजनीतिले नयाँ मोड लिएको उनीहरूको निष्कर्ष छ।
प्रतिक्रिया