पछिल्लो एक हप्तादेखि पानी नआएपछि धरान उपमहानगरपालिका–३ मा धरान खानेपानी बोर्डसँग सहकार्यमा बुद्ध ढुवानी सेवाको ट्याङ्करको सहयोगमा तीन दिनदेखि पानी वितरण भइरहेको सो वडाका अध्यक्ष विद्या श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘वर्षेनी सुक्खा मौसममा भूमिगत पानीको सतह सुक्ने, खोलाखोल्सीको पानी जम्मा गर्न नसकेको हुनाले पानीको अभाव बर्षेनि हुने गरेको छ।’ अहिले धरान–८ मा रहेको भूमिगत पानीको पम्प बिग्रिएपछि पानीको समस्या थपिएको उनले सुनाए।
विसं २०७८ को जनगणनाअनुसार धरानको जनसङ्ख्या एक लाख ६६ हजार पाँच सय ३१ छ। धरानमा हाल दैनिक दुई करोडदेखि तीन करोड लिटर पानीको माग छ। मागमध्ये आधा मात्रै पानी पनि उपलब्ध छैन।
खानेपानी संस्थानले केही वर्ष अगाडि सर्दु, तामाखाम जलाधार स्रोतबाट वर्षायाममा असारदेखि माघसम्म दैनिक दुईदेखि तीन करोड लिटरसम्म पानी उपलब्ध गराउँदै आएको थियो। त्यसयता भने समस्या फेरि सुरु भएको।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले निर्वाचित भएरपछि झण्डै ४२ किलोमिटको दुरीबाट पानी ल्याएका थिए। तर दीर्घकालीनरुपमा भने समस्या समाधान हुन सकेको छैन।
धरानमा अहिले करिब ३० हजार धारा जडान गरिएको धरान खानेपानी व्यवस्थापन बोर्डका व्यवस्थापक इन्जिनियर राजु पोख्रेलको भनाइ छ। उनले खोलानाला सुकेर पानी ट्याङ्कीमा जम्मा हुन नसकेको कारण धरानका सबै ठाउँमा खानेपानीको अभाव भएको बताए।
उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले धरानमा देखिएको खानेपानीको समस्याका लागि दीर्घकालीन उपाय खोजनुपर्ने बताउँछन्। उनले भने, ‘धरानमा खानेपानी समस्या समाधानका लागि भइरहेका प्रयास पर्याप्त छैनन्, दीर्घकालीनरुपमा समस्या समाधान हुने गरी काम गर्नुपर्छ।’ उनले योजनाबद्धरुपमा काम नहुँदा सुक्खा मौसम सुरु भएसँगै पानीको अभाव सुरु हुने गरेको बताए। रासस
प्रतिक्रिया