काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई सबै पदबाट निष्कासन गरेको छ ।
मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले अनुशासन आयोगको सिफारिस बमोजिम महामन्त्री ढकाललाई कारबाही गरेको हो ।
अनुशासन आयोगले साधारण सदस्यबाट समेत निश्कासन गर्ने सिफारिस गरेको थियो । तर, केन्द्रीय समितिले भने उनलाई महामन्त्री, प्रवक्ता, केन्द्रीय समितिबाट हटाएको हो ।
बैठकपछि नेता एवं कार्यवाहक प्रवक्ता मनिष झाले संचारकर्मीलाई भने, ‘अभद्र, अमर्यादित, अशोभनीय र पार्टी हित विपरित काम गरेकोमा पार्टी अनुशासन विभागले गरेको सिफारिस बमोजिम कारबाहीको निर्णय गरिएको छ ।”
ढकाललाई पार्टी निर्णयमा चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्ने मौका दिइएको झाले बताए । यसअघि केन्द्रीय समिति बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरेको थियो ।
समीक्षा यात्रापछि विवादित प्रतिवेदन लेखेको, बैठकमा पार्टीको आचरणविरुद्ध प्रस्तुत भएको तथा पार्टीलाई हानि गर्ने गतिविधि गरेको भन्दै उनी निलम्बनमा परेका थिए ।
गत बुधबार बसेको केन्द्रीय समिति बैठकमा महामनन्त्री ढकालले प्रष्टिकरण दिन खोजेका थिए । तर, अनुमति नपाएपछि उनले आफ्नो प्रतिवेदन सार्वजनिक गरेका थिए ।
बैठकमा बोल्न नपाएको भन्दै उनी कालो टेप टाँसेर बसेका थिए ।
प्रतिक्रिया