सिरहा : आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचन निर्धारित मितिमै हुने अर्थमन्त्री डा.रामेश्वर खनालले बताएका छन् । लहानको रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री खनालले निर्वाचन गराउन सरकार पूर्ण रूपमा तयार रहेकोले तोकिएकै मिति निर्वाचन हुने वताएका हुन् ।
मन्त्री खनालले “सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ, कसैको अफवाह ,हल्ला र भ्रममा नपर्न म आम नागरिकलाई आग्रह गर्छु ।” भने। खनालले वर्तमान सरकार जेनजी आन्दोलनपछि बनेको उल्लेख गर्दै यसको प्रमुख दायित्व निर्वाचन सम्पन्न गराउनु रहेको समेत स्पष्ट पारे । निर्वाचनपछि देशको अर्थतन्त्र पनि क्रमशः लयमा फर्किने समेत मन्त्री खनालले विश्वास व्यक्त गरे ।
कार्यक्रममा अस्पतालको ४७ वर्षदेखि रोकिएको जग्गा दर्ता प्रक्रिया हालै सम्पन्न भएको उल्लेख गर्दै उनले जेनजी आन्दोलनपछि बनेको सरकारले ४७ दिनमै एक करोड २४ लाख रुपैयाँ लाभकर मिनाहा गरी दाता मुरारका र शारडा परिवारको चाहना पूरा गरेको जानकारी दिए । दाता परिवारका तर्फबाट मुरारीलाल मुरारका र पवनकुमार शारडाले वर्तमान सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले गरेको पहलबाट ४७ वर्षमा हुन नसकेको कार्य भएकोमा सरकारलाई धन्यवाद ज्ञापन गदछौं भने ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, दाता परिवारका प्रतिनिधि, उद्योगी–व्यापारी तथा अस्पताल व्यवस्थापनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया