सिरहाको गोलबजारमा ब्राउनसुगरको होलसेल पसल, प्रहरी मूकदर्शक

आइतबार, १६ भदौ २०८१
सिरहा : जिल्लाको मध्यभागमा पर्ने गोलबजार यतिबेला लागूऔषधको हबका रूपमा रूपान्तरित हुँदै गएको छ । एक अध्ययन अनुसार गोलबजारमा ब्राउन सुगरको होलसेल पसल नै चारवटा र खुद्रा पसल दर्जनौ रहेको पाइएको छ । सञ्चारकर्मीहरूको एक टोलीले ५० जना दुव्र्यसनीहरुलाई भेटेर गरेको अन्तरक्रियात्मक अध्ययनले गोलबजार क्षेत्र लागु औषधको हब बनेको हो । गोलबजारमा रहेको तीनवटा सुधार केन्द्र (पुर्नस्थापना केन्द्र) मा रहेका ५० जना दुव्र्यसनीहरू सँग गरिएको वार्तालापबाट आएको तथ्य अनुसार गाँजा, ट्यावलेट, सुई र करेक्स त लगभग खुला रुपमै बिक्री हुन्छ । प्रयोगकर्ताहरू सीमापारी भारतीय बजार पुगेर लागूऔषध प्रयोग गरेर आउँछन् । फर्किदा बोकेर ल्याउँछन् । मोटरसाइकलमा घुमेर बिक्री गर्छन् । प्रयोगकर्ताहरू जहाँ छन् त्यहीँ पुर्‍याउँछन् । प्रयोगकर्ताहरू सामुदायिक वन, खोल्साखोल्सी, खाली घर, खोलानाला र बगैंचाहरू मा बसेर लागूऔषध बिक्रेतालाई फोन गर्छन् । बिक्रेताले मोटरसाइकलमा त्यहीँ पुर्याइदिन्छन् । मकवानपुर रिकभरिङ्ग समूह (पुर्नस्थापना केन्द्र)मा आफूलाई सुधार्ने कोसिसमा रहेका दुव्र्यसनी राम गोपाल दास (नाम परिवर्तन) भन्छन्,‘गोलबजारमा ब्राउन सुगरको होलसेल पसल छ । यहाँबाट सिरहा, धनुषा, कटारी, ओखलढुंगा, सोलु, सिन्धुली, गाइघाट र काठमाडौंसम्म ब्राउन सुगर निर्यात हुन्छ । काँकडभिट्टा र वीरगञ्ज नाकाबाट ‘माल’ आउँछ । भारतीय बजार जयनगर, लदनीयाँ र लौकहा नाकाबाट पनि यदाकदा भित्रिने उनको भनाइ छ । गोलबजारका युवा तथा समाजसेवी सुरेश साह भन्छन्,‘दैनिक उपभोग्य वस्तु र अन्य सामान भन्सार चोरी पैठारी गर्ने तस्कर (स्थानीय भाषामा ‘ब्लेकिया’) हरू प्रहरीबीच साँठगाँठ छ । महिनावारी रकम बुझाएर ‘ब्लेकिया’हरुले मालसामान पैठारी गर्छन् । उनीहरूलाई प्रहरीले समात्दैनन् । उनीहरूले अतिरिक्त मुनाफाका लागि अन्य सामानहरूसँग लागूऔषध पनि भित्र्याउँछन् । गोलबजारमा ब्लेकियाहरू धेरै छन् । भन्सार छलेर लत्ता कपडा ,चिनी, तेल र मोटर पार्टस धेरै ल्याइन्छ । त्यही सामानमा मिसाएर लागू औषध पनि ग्वारगर्ति अउँछ । त्यसकारण गोलबजार लागू औषधको हब बनेको छ ।’ गोलबजारका संस्थागत विद्यालय सञ्चालक तथा प्रतिष्ठित व्यक्तित्व मनोज कुमार यादव भन्छन्,‘विद्यालय वरिपरी हामीले निगरानी बढाएका छौं । टिफिनको समयमा ब्राउनसुगरलगायत अन्य लागूऔषध बोकेर एजेन्टहरू विद्यालय छेउछाउ चक्कर लगाउँछन् । एजेन्टहरूलाई कतिपटक चेतावनी दिएर लखेटेका छौं । बालबालिकालाई कुलतबाट जोगाउन कठिन भएको छ ।’ गोलबजारमा सञ्चालित तीनवटा पुनस्र्थापना केन्द्रका दुव्र्यसनीहरूले बताएअनुसार ट्यावलेट, सुई, करेक्सका दुव्र्यसनीको संख्या एक हजारभन्दा बढी छ । ब्राउनसुगर अलि मंहगो छ त्यसकारण प्रयोगकर्ता अलि कम छन् । ब्राउनसुगर दुव्र्यसनी पनि तीन सय भन्दा बढी छन् । उनले एक ग्राम ब्राउनसुगर एक डोज हुन्छ र त्यसको चार हजार मूल्य पर्छ । उनीहरू भन्छन्,‘गोलबजारमा लागूऔषध खरिद गर्न चुरोट सुपारी किने जस्तै सजिलो छ । दर्जनौ स्थानमा सहज रूपमा उपलब्ध छ ।’ गोलबजारमा कसरी ह्वात्तै दुव्यर्सनी बढे भन्ने हाम्रो प्रश्नमा इलाका प्रहरी कार्यालय गोलबजार वरिपरी नै घर भएका र सिरहा पुनस्र्थापना केन्द्रमा स्वास्थ्य लाभ लिइरहेका ३४ वर्षीय दुव्र्यसनी मुकेश दर्लामी (नाम थर परिवर्तन) भन्छन्,‘जस्तो कि म ब्राउन सुगरमा पल्किएँ । अब मलाई नभइ हुँदैन । तर मसँग पैसा छैन भने विक्रेताले भन्छन् दुई तीनजना नयाँ साथीलाई ग्राहक बनाउ । प्रयोग गर्न सिकाउ अनि तिमीलाई चार डोज फ्रि दिन्छु,’उनले अगाडि भने,‘मैंले चार डोज फ्रि पाउनका लागि अन्य चार जनालाई फकाएर दुव्र्यसनी बनाए । यसरी दुव्र्यसनीहरूको संख्या बढ्छ । बिक्रेताले दर्जनौ पुराना दुव्र्यसनीहरूलाई नयाँ केटाहरूलाई कुलतमा फसाउन खटाउँछन् ।’ मकवानपुर पुर्नस्थापना समूहमा लागूऔषध मोचनका लागि बसेका महोत्तरीका १९ वर्षिय रवीन्द्र साह (नाम परिवर्तन) भन्छन्,‘एकदुई वर्ष घरको सारा सम्पत्ति बेचेर ब्राउनसुगर खाइयो । तर पैसा सकिएपछि के गर्ने रु मनले मान्दैन, शरीरले माग्छ । त्यसपछि ब्राउनसुगर बोक्ने भरिया बनियो । भरिया बनेवापत दुईचार हप्ता सित्तैमा पाइयो । पुँजी हुनेले घरमै बसी–बसी पैसा कमाउँछन् ।’ ‘प्रहरीले दुव्र्यसनीहरुलाई मात्र समात्छ । तर मूल होलसेल र रिटेलर बिक्रेताहरूलाई समात्न सक्दैन,’उनले भने,‘गोलबजारमै रहेको तीनवटा पुर्नस्थापना केन्द्रमा प्रहरी आएर दुव्र्यसनीहरूसँग अन्तरक्रिया गर्ने र सूचना संकलन गर्ने हो भने लागूऔषधका ठूला सौदागरहरू सजिलै पक्रन सकिन्छ । तर प्रहरीले लागूऔषधका ठूला व्यापारी विरलै समात्छ । प्रहरीले पक्राउ गरेका व्यक्तिहरूमा ९९ प्रतिशत दुव्र्यसनीहरू छन् ।’ आफू दुव्र्यसनबाट बर्बाद भएर पुर्नस्थापना केन्द्रबाट पुनर्जीवन पाएका र हाल पुर्नस्थापना केन्द्र सञ्चालन गरेर बसेका शशीबाबु यादव भन्छन्,‘प्रहरीले सूचना पाइहाल्यो र भेटिहाल्यो भने समात्छ । तर पत्ता लगाएर खोजेर समात्दैन् । सुध्रिएर नयाँ जीवन जिउन खोज्दा पनि हामी समाजमा अपहेलित हुन्छौ । त्यसकारण हामीले आफैं आफू जस्तालाई सुधार्ने कोसिसमा लागेका छौं ।’ ‘६० हजार जनसंख्या भएको नगरपालिकामा तीनवटा पुनस्र्थापना केन्द्रमा भरिभराउ दुव्र्यसनीहरु हुनु सामान्य कुरा होइन । दुई वर्ष अघिसम्म फाट्टफुट्ट मात्र दुव्र्यसनी भेटिन्थे । अहिले तीनवटा पुर्नस्थापना केन्द्रमा लगभग एक सय जना दुव्र्यसनी छन् । यहाँ ठाउँ नपुगेर वर्दिवास, सर्लाही र धनुषामा समेत दुव्र्यसनी पु¥याइएको छ,’पुनस्र्थापना केन्द्रका अर्का मुख्य सञ्चालक तथा पूर्वदुव्र्यसनी प्रवीण गौतमले भने । गोलबजारमा सञ्चालित तीनवटा पुनस्र्थापना केन्द्रका अधिकांश दुव्र्यसनीहरू भन्छन्,‘पहिलो चरणमा चुरोट, त्यसपछि गाँजा क्रमश रक्सी पिउँदै ट्यावलेट प्रयोगमा पुगिन्छ । रक्सी पसलहरुमा ट्यावलेट बेच्नेहरु पुग्छन् । यो चक्की खाउ, मजा आउँछ भनेर उक्साउँछन् । क्रमशः करेक्स र सुई लगाउनेमा पुगिन्छ । त्यसपछि ब्राउन सुगरमा फसिन्छ । एक दिन मात्र प्रयोग गरेपछि नभइ हुँदैन ।’ इलाका प्रहरी गोल बजारकै अपराध चार्ट हेर्दा गोलबजार लागूऔषधको हव भएको पुष्टि हुन्छ । आर्थिक वर्ष २०८०।०८१ मा इलाका प्रहरी कार्यालय गोलबजारले १२ जना लागू औषध दुव्र्यसनी र ओसारपोसारमा संलग्नहरुलाई पक्राउ गरी मुद्दा चलाएको छ । जसमध्ये पाँच जना ब्राउन सुगरसहित पक्राउ परेका थिए । त्यसैगरी जिल्लाभरिका अन्य प्रहरी कार्यालयहरूले पक्राउ गरेका व्यक्तिहरु पनि गोलबजारका बासिन्दा अधिक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले गत साउन १२ गते १०५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेका व्यक्ति विनय कुमर साह पनि गोलबजार कै हुन् । प्रहरीकै तथ्यांकहरुले पनि गोलबजार लागू औषधको ‘स्वर्ग’ बनेको देखिन्छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल कार्की भन्छन्,‘प्रहरीको एकल प्रयासले लागूऔषध नियन्त्रण गर्न सकिदैन । यसमा स्थानीय सरकार, अभिभावक, शिक्षक वुद्धिजीवि सबैले सकृय भूमिका खेल्नुपर्छ ।’ खुला सीमानाका कारण पनि लागू औषधको कारोवार बढेको प्रहरी निरीक्षक कार्कीको भनाइ छ । तर, स्थानीय समाजसेवी तथा नेकपा माओवादीका नेता तथा पूर्वसांसद जगत यादवको बिचार फरक छ । उनी भन्छन्,‘लागूऔषध नियन्त्रण गर्ने मूल भूमिका प्रहरी कै हो । किनकि यो संगीन अपराध हो र अपराध नियन्त्रण गर्नु प्रहरीको प्राथमिक कर्तव्य हो ।’ ‘लागूऔषध तस्करहरू शक्तिशाली छन् । उनीहरूलाई प्रहरीले मात्र नियन्त्रण गर्न सक्छ । सर्वसाधारणसँग हतियार छ र उनीहरूलाई तह लगाउनु ?’, उनले भने,‘गोलबजारमा दुव्र्यसनीहरूको संख्या हेर्दा समाजको एक पुस्ता नै बर्बाद भइरहेको देखिन्छ । गोलबजारमा सक्षम प्रहरी युनिट राखेर लागूऔषधविरूद्ध विशेष अप्रेशन नै चलाउनुपर्छ ।’ जनताले प्रहरीलाई सूचना दिएर सहयोग गर्ने हो । गोलबजारमा लागूऔषधका ठूला विक्रेता र प्रहरीबीच साँठगाँठ नहुने कुरै छैन । नत्र गोलबजारमा लागूऔषधको पसल बग्रेल्ती हुने थिएन । होलसेलमा व्यापार चलिरहेको छ । गोलबजारका तीनवटा पुर्नस्थापना केन्द्रमा रहेका करिब सय जना दुव्र्यसनीहरू १६ वर्षदेखि ४२ वर्ष उमेर समूहका छन् । कक्षा ८ मा पढदै गर्दा कुलतमा फसेको बताउने २० वर्ष मुनिका करिब एक दर्जन दुव्र्यसनी भेटिए । दुव्र्यसनीमध्ये ७५ प्रतिशत ब्राउन सुगर सेवनसम्म पुगेका भेटिएका छन् । पत्रकार महासंघका उपाध्यक्ष पत्रकार गणेश साह भन्छन्,‘खर्च धान्न नसक्ने अभिभावकले आफ्ना दुव्र्यसनी सन्तानलाई पुर्नस्थापना केन्द्रमा नल्याएका हुन् । नत्र गोलबजारमा दर्जनौ पुनस्र्थापना केन्द्र खोल्नुपर्छ । स्थिति अत्यास लाग्दोछ ।’ (पत्रकार अर्जुन थपलिया, मुकेश यादव, र आशिष विश्वकर्माको अध्ययनअनुसार नेपाल न्यूज बैंकका लागि तयारी पारिएको रिपोर्ट ।)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार