विराटनगरमा बल्ब परिवर्तन गर्दा करेन्ट लागेर मिल सञ्चालकको मृत्यु

आइतबार, २३ भदौ २०८१
विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित एउटा मिलका सञ्चालकलाई शनिवार साँझ करेन्ट लागेको छ । करेन्ट लागेर गम्भीर घाइते भएका मिल सञ्चालक विराटनगर–४ इक्राहीका ५२ वर्षीय अवधनारायण मोदीलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका छन् । आफ्नै धान कुट्ने मिलमा करेन्ट लागेर गम्भीर घाइते भएको अवस्थामा मोदी भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । धान कुट्न गएकाहरूले मोदीलाई साँझ ६ः४५ बजेतिर मिलमै लडिरहेको देखेर परिवारका सदस्यलाई खबर गरेका थिए । तत्काल उद्धार गरेर उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको डिएसपी बस्नेतले बताए । मिलको बल्ब परिवर्तन गर्ने क्रममा मोदीलाई करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार