पूर्व मुख्यमन्त्री केदार कार्कीले निषेधित क्षेत्रमै सुरु गरे अनशन

मंगलबार, २५ भदौ २०८१
विराटनगर : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले निषेधित क्षेत्रमै अनशन सुरु गरेका छन् । आफ्ना समर्थकका साथमा कार्कीले प्रदेशसभा सचिवालयको गेटअगाडि उत्तरतर्फ बनसखण्डी महादेव मन्दिर नजिक अनशन सुरु गरेका हुन् । उक्त स्थानमा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको थियो । तर, त्यसलाई बेवास्ता गर्दै आफ्ना समर्थकका साथमा कार्की अनशन बस्न ४ बजे पुगेका थिए । अनशन स्थलमा प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राई, केही प्रदेशसभा सदस्यहरू, नेपाली काँग्रेसका जिल्ला तहका नेताहरू पनि पुगेका छन् । अनशन स्थलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले हालसम्म कुनै हस्तक्षेप भने गरेको छैन । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निषेधित क्षेत्रमा अनशन बस्न नपाउने बताए । ‘प्रहरीले अब केही बेरमा हटाउँछ । त्यस विषयमा कुरा भइरहेको छ,’ उनले भने । कार्कीको अनशनलाई रोक्नका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा लगाइएका स्थानमा दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि सभा, जुलुस, भेला, र्‍याली, धर्ना, प्रदर्शनीलगायतका विरोधजन्य कार्य गर्न रोक लगाइएको हो । सर्वसाधारण तथा सवारीसाधन आवतजावतमा भने कुनै असर पर्ने छैन । आफू मुख्यमन्त्री भएका बेला सुरु गरेका महत्त्वपूर्ण र जनउत्तरदायी कार्यक्रमहरू अहिलेको सरकारले कटौती गरेको भन्दै पूर्व मुख्यमन्त्री कार्की अनशन बसेका हुन् । आफू नेतृत्वको सरकार हुँदा सञ्चालन गरिएका यी कार्यक्रम सरकारले कटौती गरेको भन्दै कार्कीले विरोध गरिरहेका छन् । सरकारले भने कार्कीले भनेका कतिपय कार्यक्रम निरन्तर रहेको र कतिपय सरकारको क्षमताले नभ्याउने भएकोले कटौती गरेको बताउँदै आएको छ ।

यो पनि - पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन रोक्न विराटनगरका विभिन्न स्थानमा निषेधाज्ञा

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार