मोरङको छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

विहीबार, २७ भदौ २०८१
विराटनगर : मोरङको पथरीशनिश्चरे र बूढीगंगामा बिहीबार दुई जनाको मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका–१ मा लडेकी एक जना वृद्धाको अस्पताल पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको । पाँचथरको फिदिम नगरपालिका–८ की ६० वर्षीया डम्बरमाया मुखिया दिउँसो ३ः२० बजेतिर आफैं लडेर अचेत भएकी थिइन् । प्रहरीले उद्धार गरेर उपचारका लागि नगर अस्पताल पथरीमा लगेको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा राखिएको छ । त्यस्तै, बूढीगंगा गाउँपालिका–३ सिमलगाछीस्थित नहरको साइडमा रहेको सिमलको रुखमुनि अचेत अवस्थामा भेटिएका ३८ वर्षीय चन्द्रप्रसाद अधिकारीको मृत्यु भएको छ । उनी दिउँसो ४ः३० बजेतिर बेहोस अवस्थामा फेला परेका थिए । स्थानीयले घटनाको जानकारी गराउनसाथ घटनास्थलमा पुगेको प्रहरीले उद्धार गरेर उपचारका लागि विराट शिक्षण अस्पताल लगेको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । उनको मृत्युको कारण खुलेको छैन । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार