प्रहरी हिरासतको भेन्टिलेसन फोडेर भागेका ९ पक्राउ

मंगलबार, ०८ असोज २०८१
जनकपुर । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको भेन्टिलेसन काटेर फरार भएका सबै जना पक्राउ परेका छन्। सोमबार बिहान ४ बजेको समयमा हिरासत कक्षको भेन्टिलेसन काटेर नौ जना थुनुवा फरार भएका थिए। थुनुवा कोठाबाट फरार भएका सबै जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताए। उनका अनुसार पक्राउ पर्नेहरुमा लागूऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका ७ का रोशनकुमार मण्डल, सोही ठाउँका रञ्जित मण्डल, सिरहाको सिरहा नगरपालिका १३ का अभाष्करकुमार यादव, जनकपुरधाम उपमहानरपालिका २० का अमितकुमार झा र औरही गाउँपालिका २ का विशाल मुखिया रहेका छन्। त्यस्तै अभद्र व्यवहार मुद्दाका अभियुक्त जनकपुरधाम ४ का बिक्की कार्की, जनकपुरधाम १ का सुमित मेस्तर, धनुषाको नगराइन नगरपालिका २ का मनिष मण्डल र महोत्तरीको जलेश्वर नगरपालिका ५ का सत्यम झा रहेका छन्। उनीहरुलाई धनुषा जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रवक्ता अवाले बताए। एकसाथ नौ जना थुनुवा हिरासतबाट फरार भएपछि घटना सम्बन्धमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायव उपरीक्षक रञ्जन अवाको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति बनाएको छ। यसैगरी, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसएसपी सुरेन्द्र गुरुङको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार