पाँचथर : निरन्तर भइरहेको वर्षाका कारण नावा खोलामा पानीको बहाव बढेसँगै तमोर करिडोरको धनकुटा पाँचथर खण्डमा दर्जनौं सवारी र यात्रु अलपत्र परेका छन् ।
करिडोर अन्तरगत धनकुटा र पाँचथरलाई सिमाना छुट्याएर बग्ने नावा खोलामा बिहानैदेखि पानीका बहाव बढ्दा धरान र विराटनगरबाट पाँचथर तथा पाँचथरबाट धरान र विराटनगरतर्फ हिँडेका साधनसँगै यात्रु अलपत्र परेका हुन् ।
नावा खोला पारी धनकुटातर्फ दुई दर्जन र खोलावारी पाँचथरतर्फ एक दर्जन दुई पाङ्ग्रे र चार पाङ्ग्रे साधन अलपत्र पर्दा डेढ सय हाराहारी यात्रु बाटोमै रोकिएको स्थानीयले बताएका छन् ।
तमोर करिडोरमा पर्ने नावा खोलासँगै छरुवा र रगुवा गरी तीनवटा खोलामा पुल नबन्दा समस्या हुँदै आएको छ । तीनवटै खोलामा पानीको बहाव बढेपनि नावा खोलाबाट भने बिहानैदेखि सवारीसाधन वारपार हुन कठीन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी)हेमन्त भण्डारीले जानकारी दिए ।
पानी पर्न थालेपछि खोलामा जोखिम हुन्छ भन्ने पूर्व सूचना पाएर पनि यात्रु स्वयम् यो बाटो भएर आउँदा समस्या झेल्नु परेको उनले बताए ।
यसैगरी अविरल झरीसँगै सडक माथिबाट खसेको पहिरोका कारण इलाम बिब्ल्याटे,मावु सडक अवरुद्व भएको छ ।
सडकखण्डमा पर्ने सुलुबुङस्थित मावु हाइड्रो छेउमा पहिरो गएका कारण सडक अवरुद्व भएको इलाम प्रहरीले जनाएको छ ।
प्रतिक्रिया