विराटनगर : धरानबाट मोरङको गोठगाउँ जाने क्रममा एक यात्रुको नगद र गहना बसमै छुटेपछि ट्राफिक प्रहरीले फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।
धनकुटाको शहिदभूमि गाउँपालिका–४ खोकुछिन्ताङकी राधिका राई गोठगाउँका लागि धरानबाट को १ ख ६७९४ बसमा चढेकी थिइन् । तर, गोठगाउँ आइपुगेर ओर्लिने क्रममा उनले नगद ७२ हजार ५ सय रूपैयाँ तथा १ तोला सुन र १ तोला चाँदीको गहना बिर्सिएर बसमै छाडेकी थिइन् ।
पैसा र गहना बसमै छुटेको भनेर उनले तत्काल प्रहरीलाई खबर गरिन् । त्यसलगत्तै ट्राफिक प्रहरी पोष्ट बेलबारीबाट खटिएको वरिष्ठ सइ (वरिष्ठ प्रहरी नायव निरीक्षक) लोकबहादुर दियाली नेतृत्वको टोलीले सवारीसाधन चेकजाँच गर्न थालेको थियो ।
ट्राफिक चेकजाँचका क्रममा महिलाले बोक्ने हाते झोला (हेण्ड ब्याग) बसभित्रै फेला परेको मोरङ ट्राफिक प्रमुख इन्सपेक्टर राजन लम्सालले बताए । उनका अनुसार फेला परेको पैसा र गरगहना सम्बन्धित धनीलाई नै फिर्ता गरिएको छ ।
‘नगद र गहना भेटिएपछि सम्बन्धित धनीलाई बोलाएर जिम्मा लगाइयो,’ लम्सालले भने, ‘हराएको सामान भेटिएपछि उहाँ पनि खुसी हुनु भयो ।’
यसैबीच ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनलगायतमा यात्रा गर्दा आफ्नो सामानको सुरक्षामा ध्यान दिन सबैलाई आग्रह गरेको छ ।
प्रतिक्रिया