भोजपुर : भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम, व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यावसायमा लाग्ने युवाहरूको लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवाहरूमा कृषिमा प्रतिमोह बढेको हो ।
यहाँका युवाहरूले अहिले व्यावसायिक रूपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा मेहनत बगाएपनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरू यही नै उद्यममा जुटेका हुन् ।
टेम्केमैयुङ गाउँपालिकाका स्थानीय गुणराज राउतले विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन्
विदेशमा १५ वर्ष बिताएका राउत अहिले आफ्नै ठाउँमा व्यावसायिक बाख्रापालनमा लागेका हुन् । “विदेशमा लामो समय बिताएँ” उनले भने, “धेरै मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी गर्न भएन । अहिले आफ्नै ठाउँमा व्यावसायिक रूपमा बाख्रापालनमा लागेको छु । बाख्रापालनबाट यहीँ राम्रो आम्दानी गरिरहेको छु ।”
विदेशमा गर्ने मेहनत यहाँ गर्न सके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । मानिसहरूले विदेशमा बगाउने पसिना यहीँ बगाए देशलाई पनि योगदान पुग्ने राउतको भनाइ छ ।
कृषकहरूलाई व्यावसायिक रूपमा बाख्रापालनको विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उनले बताए । ग्रामीण भेगमा पशु चिकित्सकहरूको उपस्थिति कम हुने भएकाले किसानलाई समस्या हुने उनले बताए ।
विदेशबाट फर्केर स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिक रुपमा सतुवा तथा चिराइतो खेती गरिरहेको बताए । उनले व्यावसायबाट वर्षमा तीनदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएको जानकारी दिए ।
टेम्केमैयुङ गाउँपालिका कुमार विष्टले विदेशबाट फर्केर व्यावसायिक किवी र एभोकाडोको खेती गरिरहेको बताए । अबको केही वर्षमा बार्षिक ६ देखि आठ लाखसम्म आम्दानी लिने लक्ष्य रहेको विष्टको भनाइ छ ।
१५ रोपनी क्षेत्रमा किवीको व्यवसायिक खेती थालेको उनको भनाइ छ । किवीले यस वर्षबाट फल दिन थालेको बताए । “आफ्नै ठाउँमा केही गर्ने सोचले व्यावसायिक कृषि खेतीमा लागेको छु” उनले भने, “आफ्नै ठाँउमा योजनावद्ध रूपमा व्यावसायिक बन्न सकियो भने राम्रो आम्दानी लिन सकिन्छ । आफ्नै ठाउँमा नमूनायोग्य काम गर्ने सोचका साथ कृषि कर्ममा लागेको छु ।”
युवाले विदेश जानभन्दा स्वदेशमा नै व्यावसायिक भएर काम गर्न सके जीवन गुजारा गर्न समस्या नरहेको उनको भनाइ छ ।
प्रतिक्रिया