मोरङको रतुवा खोलाले बगाएर बेपत्ता भएकी वृद्धा ३० घण्टासम्म फेला परिनन्

शुक्रबार, ११ असोज २०८१
विराटनगर : मोरङमा एक वृद्धालाई खोलाले बगाएको ३० घण्टा हुँदासमेत भेटिएकी छैनन् । जिल्लाको रतुवामाई नगरपालिका–७ की १ वृद्धालाई रतुवा खोलाले बगाएर बेपत्ता बनाएको हो । वृद्धालाई खोलाले बगाएको ३० घण्टाभन्दा बढी भइसकेका कारण अब जीवितै भेट्ने सम्भावना नरहेको र भोलिपल्टसम्म शव पनि फेला नपरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ७२ वर्षीया डुरोदेवी राजवंशीलाई खोलाले झापा तर्फबाट बगाएको हो । झापाको गौरादह नगरपालिका–६ स्थित छोरीको घर पुगेर फर्किने क्रममा डुरोदेवीलाई बिहीबार दिउँसो १२ः३० बजेतिर खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । तर, वृद्धालाई बेपत्ता बनाएको भोलिपल्ट शुक्रबार (आज) मात्रै मोरङ प्रहरीले घटनाको जानकारी पाएको थियो । मोरङ प्रहरीलाई शुक्रबार बिहान ११ बजेतिर प्रहरीलाई खबर आएको हो । झापा प्रहरीले भने बिहीबार नै खबर पाएको बताइएको छ । ‘छोरीको घर पुगेर आफ्नो घरतिर फर्कदा खोलाले बगाएर बेपत्ता भएको जानकारी आएको छ,’ मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले भने, ‘खोजी जारी राखिएको भएपनि फेला पार्न सकिएको छैन ।’ उनका अनुसार तर्ने क्रममा खोलाले वृद्धालाई बगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बेपत्ता बनाएको भोलिपल्ट पनि फेला पार्न नसकिएको र स्थानीयको सहयोगमा खोजी जारी राखिएको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार