धरान : धरानस्थित साकेला साँस्कृतिक पार्कमा साकेला पुस्तकालय तथा अध्ययन अनुसन्धान केन्द्रको उद्घाटन भएको छ ।
धरान १७ साकेला पार्कमा पुस्तकालयको धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई र पूर्व नगर प्रमुख तिलक राईले उद्घाटन गरेका हुन् ।
विश्वव्यापी टेक्नोलोजीको बृहत विकासले संस्कृतिहरू लोप हुने चुनौती रहेकोले लिपिलाई कसरी जोगानुपर्ने नगर प्रमुख राईले बताए ।
उनले भेषभूषा, भाषा संस्कृतिको जगेर्ना आफैँले नै गर्नुपर्ने जिम्मेवारी रहेको बताउँदै धरान १६ मा विभिन्न भाषा संस्कृतिहरूको संरक्षण गर्न सृजनशील काम भइरहेको बताए ।
साकेला संस्कृति पार्क रहेको जग्गा तत्कालीन धरानका नगर प्रमुख स्व.ध्यानबहादुर राईको पहलमा ३० वर्ष पहिला प्राप्त भएको र उनको योगदानको सधैँ कदर गर्नुपर्ने उनले बताए ।
पुस्तकालयको निर्माण किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईको परिकल्पना र पहलमा कार्यसमिति, नगर कार्यसमिति र विभिन्न वडा कार्यसमितिको श्रमदानबाट निर्माण हो । कार्यक्रममा दाताहरूले किरात संस्कृति झल्काउने दुई तले भवन किरात राई यायोक्खा सुनसरीलाई हस्तान्तरण गरेका छन् ।
यस भवन निर्माण गर्न स्वर्गीय नगर प्रमुख राईको स्मृतिमा उनकी पत्नी लक्ष्मीशोभा राईले सात लाख रकम र अन्य दाताहरूको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।
पुस्तकालयमा निःशुल्क पुस्तक अध्ययन, इलाइब्रेरी, निःशुल्क इन्टरनेट र चिया कफीको पनि व्यवस्था रहेको अध्यक्ष किरायाका राईले बताए ।
पुस्तकालय भवन बनेको ठाउँमा २०५५ सालमा बनेको जीर्ण घर थियो । उक्त घरलाई नै जोगाएर पुस्तकालय माथिल्लो तला थप्ने योजना भएपनि इञ्जिनियरले परीक्षण गर्दा रड मक्किएको पाइएपछि नयाँ भवन पुनःनिर्माण गर्नुपरेको अध्यक्ष राईले बताए ।
उक्त भवनको भुँईतलामा किरात संस्कृतिमा आधारित तीन चुला, भार, अगेना, किरातकालीन हातहतियार, भाँडाकुँडासहितको सामाग्रीहरूको अध्ययन गर्न सकिनेछ भने पहिलो तलामा विशेष किरात सभ्यता, संस्कृतिका पुस्तक र अन्य पुस्तकहरू अध्ययन र कम्प्युटरबाट पनि अध्ययन गर्ने व्यवस्था रहेको छ ।
कार्यक्रममा संविधानसभा सदस्य किरणकुमार राई, किराया उपाध्यक्ष दोर्पधोज राईलगायत केन्द्र, प्रदेश कार्यसमितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया