महोत्तरी : २०६० सालतिर महोत्तरीस्थित साबिकको खयर मारा-३ का युक्ति ढकालको मृत्यु भएपछि घाटमा चित्ता राखेर जलाउन ठिक बनाउँदा एक्कासि आएको बाढीले शव नै बेपत्ता बनाएको गाउँलेहरूले अझै बिर्सन सकेका छैनन् । २०७८ सालमा समेत गाउँ कै एक जना विकको शव बगाउँदासम्म दाहसंस्कार नै नगरी बाढीले एक दर्जन भन्दा बढी शवलाई निलेको रेकर्ड छ ।
भालु जोरा खोला र टुटेश्वर खोलाको दोभानमा रहेको यो घाटमा दाहसंस्कारको लागि लैजाँदा बगाउने क्रम निरन्तर चलेपछि २०८० सालमा स्थानीयहरूले आफै तटवन्धन लगाएर एउटा घाट घर बनाएका थिए । तर केही दिन अगाडी आएको बाढीले यसलाई पूर्णपुरमा क्षतिग्रस्त बनायो भने तटवन्धन लगाएका ठाँउहरु बगाएर बगरमा परिणत भए ।
टुटेश्वर मन्दिरबाट ५ सय मिटर माथि रहेको यो घाटलाई बर्दिबास-१०, ११ र ५ का झन्डै ११ हजार जनसङ्ख्याले प्रयोग गर्ने गर्दछन् । त्यसैले बाढीले चित्तासहित निलेको आफन्तहरूको शवलाई आँखै अगाडी देखेका स्थानीयहरू उहीँ पुरानो नियति दोहोरिने चिन्ताले अहिले सरोकारवालाहरूसँग सहयोगको अपिल गरिरहेका छन् ।
हिन्दु परम्पराअनुसार दाहसंस्कार अनिवार्य हो तर घाट नै असुरक्षित भएपछि चित्तामा राखेको शवलाई नै खोलाले बेपत्ता बनाउँछ भने त्यो भन्दा नराम्रो के हुन् सक्ला र ? स्थानीय विष्णुदेव भण्डारीले प्रतिप्रश्न गर्दै भने । स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकारले यसमा गम्भीर ध्यान देओस् ।
२०८० साल फाल्गुनमा विष्णुदेव उपाध्यायको संयोजकत्वमा स्थानीयहरूले चन्दा उठाएको १२ लाख र प्रदेश सरकारले दिएको १५ लाख गरी २७ लाखमा बनाएका २ वटा घाट घर र तटवन्धन क्षणभरमा नै क्षतिग्रस्त वने ।
यसरी एक वर्ष पनि नपुग्दै क्षतिग्रस्त वनेपछि पुनस्निर्माण कसरी गर्ने भन्ने स्थानीयहरूमा थप चिन्ता थपिएको हो । वडा नं.११ का लक्ष्मी प्रसाद चौलागाँई अव पुनः स्थानीयहरूको नै चन्दावाट निर्माण सम्भव नभएको वताउछ्न । स्थानीयहरूले पहिले जसरी नै उठाएर बनाउन सकिने अवस्था छैन यसको लागि सरकारले हाम्रो समस्यालाई महसुस गरिदेओस् ।चौलागाईले भने - नत्र त्रास-त्रासमा नै बाच्नुपर्ने अवस्था रहन्छ ।
वडा नं १० का पूर्व अध्यक्ष धनलाल श्रेष्ठ पनि परम्पराअनुसार चल्दै आएको दाहसंस्कारलाई ढुक्क हुने वातावरण सिर्जना गरिदिन सरोकारवालाहरूलाई आग्रह गर्दछन् । वैकल्पिक घाट पनि नभएको हुनाले पुनः निर्माण अविलम्ब हुनुपर्ने उनको भनाई छ ।
प्रतिक्रिया