विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराट चोकस्थित हरैँचा मोडबाट कपडा बोकेको एउटा मारुती भेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भन्सार छली गरेर भारतीय कपडा नेपाल भित्राएको आशंका प्रहरीको छ । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले तस्करीको कपडा ओसारपसार गरिरहेको आशंकामा झापाबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४७५ नम्बरको मारुती भेनलाई नियन्त्रणमा लिइएको बताए । प्रहरीले भेनका चालक झापाको भद्रपुर नगरपालिका–५ का २७ वर्षीय लक्ष्मण चौधरीलाई पक्राउसमेत गरेको छ ।
डीएसपी जोशीका अनुसार भेनमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा कपडा बरामद भएको हो । भेनबाट ५ सय ६६ पिस पर्दा, १ सय ९० पिस तन्ना, ६५ पिस तकिया, ९६ पिस रुवियासमेत गरेर ५ लाख मूल्य बराबरको कपडा बरामद भएको उनले बताए ।
‘भन्सार छली गरेर तस्करीको कपडा ल्याएको आशंकामा भेनसहित चालकलाई नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।’ भेन चालकले कपडाको बिल देखाए पनि त्यो शंकास्पद रहेको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय विराट चोकका सइ सानुराम कार्की नेतृत्वको टोलीले बुधबार दिउँसो भेनलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । कपडा भारतीयजस्तो देखिएपछि चालकसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘चालकले बिल देखाए । तर, त्यो नक्कलीजस्तो छ,’ प्रहरी स्रोतले भन्यो, ‘कपडा भारतीय ब्राण्डका हुन् । थप अनुसन्धान राजस्व अनुसन्धान कार्यालयले गर्छ ।’
प्रतिक्रिया