विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु प्रकरणमा पीडित पक्षले शव बुझ्ने

शुक्रबार, १८ असोज २०८१
विराटनगर । विराटनगर महानगरपालिका–१८ स्थित आईसीपी रोडमा ट्रकको ठक्करबाट बिहीबार साँझ मृत्यु भएका ६० वर्षीय श्याम साहको शव बुझ्न परिवारका सदस्य र आफन्त राजी भएका छन् । विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साहलाई साँझ पौने ७ बजेतिर ठक्कर दिएको थियो । उपचारका लागि विराट नर्सिङ होम ल्याइपुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक र चालक सुनसरीको बर्जु गाउँपालिका–५ का ३० दीपक यादवलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । तर, ट्रकको लापर्बाहीका कारण दुर्घटना भएको भन्दै आफन्त र परिवारका सदस्यले शव बुझ्न मानिरहेका थिएनन् । मृतक पक्षसँग शुक्रबार छलफल गरेर सहमति जुटाइएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए । उनका अनुसार आईसीपी रोडमा नियमित ट्राफिक चेकजाँचको व्यवस्था मिलाउने, सडकमा ढुवानीका साधन पार्किङ नगर्ने, सवारीसाधनको गति सीमित गर्नेलगायतका विषयमा सहमति भएपछि मृतक पक्ष शव बुझ्न राजी भएको छ । अन्य विषयमा पछि जिल्ला प्रशासन कार्यालयमा छलफल गरेर निष्कर्ष निकाल्ने सहमति पनि भएको डीएसपी जोशीले बताए । मृतक पक्षसँगकै सहमतिमा शवलाई विराटबाट कोशी अस्पतालमा लगेर राखिएको छ । शनिबार पोस्टमार्टम र अन्त्येष्टि गर्ने सहमति भएको उनले बताए । स्थानीय आन्दोलित बनेपछि विराटनगर–१८ स्थित विराटनगर भन्सार कार्यालय (आईसीपी) परिसर शुक्रबार केहीबेर तनावपूर्ण बन्यो । आक्रोसित भिडले भन्सार कार्यालयलाई लक्षित गरेर ढुंगामुढा गरेको थियो । भन्सार तोडफोडको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । डीएसपी जोशीले १० शेल अश्रुग्यास प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिइएको बताए । करिब ५ सयको संख्यामा भेला भएका स्थानीयले सडकको स्तरोन्नति हुनुपर्ने, मालवाहक सवारीसाधनको गति सीमित गर्नुपर्ने, सडकमा रात्रिकालीन बत्तीको व्यवस्था हुनुपर्ने लगायतका माग राखेर आन्दोलन सुरु गरेका थिए । त्यस क्रममा आक्रोसित भिडले भन्सार कार्यालयलाई लक्षित गरेर ढुंगामुढा गरेको डीएसपी जोशीले बताए । उनका अनुसार ढुंगामुढाबाट भन्सारको गेट र भवनमा क्षति पुगेको छ । कार्यालय भवनको शिशाहरु फुटेका छन् । भिडलाई रोक्ने क्रममा ढुंगामुढा हुँदा असइ (प्रहरी सहायक निरीक्षक)सहित ४ जना प्रहरीले सामान्य घाइते भएको जानकारी जोशीले दिए । भिड थप आक्रोसित बनेर अनियन्त्रित हुँदै गएपछि नियन्त्रणमा लिन अश्रुग्यास प्रहार र लाट्ठी चार्जसमेत गर्नु परेको उनको भनाइ छ । उनका अनुसार अश्रुग्यास प्रहारपछि भिड तितरवितर भएको थियो । विराटनगर–१८ का वडाध्यक्ष जितेन्द्रकुमार साहले पीडितले न्यायको माग गरेको बताए । सडक व्यवस्थित बनाउन माग गर्दै स्थानीयले सुरु गरेको आन्दोलनमा घुसपैठ भएको उनको भनाइ छ । ‘पीडितले न्याय चाहियो भनिरहेका छन् । स्थानीयले सडक व्यवस्थित बनाउनुपर्ने माग राखेर आन्दोलन गरे,’ साहले भने, ‘तर, शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भयो । घुसपैठका कारण भिड आक्रोसित भएर तोडफोडमा उत्रियो ।’ उनका अनुसार विराटनगर भन्सार आसपासको क्षेत्र केहीबेर तनावग्रस्त भएको थियो । वार्ताबाट समस्याको समाधान भइसकेको र मृतक पक्ष शव बुझ्न राजी भएको जानकारी उनले दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार